लन्डन । बेलायतको क्याट्रिक स्थित ब्रिटिश गोर्खा नेप्लिज कम्युनिटी यूकेले पहिरोमा परि परिवार गुमाएका बालिकालाई आर्थिक सहयोग गरेको छ ।
गत भदौ महिनामा सल्यानमा आएको पहिरोमा घरसहित आमाबाबु, भाइबहिनी गुमाएका तीन दलित बालिकालाई ५ लाख रुपैयाँ सहयोग गरिएको हो ।
यसै बीच क्याट्रिकमा रहेको ब्रिटिश गोरखाज एण्ड नेपलिज कम्युनिटी (बीजीएण्डसी) ले सल्यान बागचोर नगरपालिका–४, बागचोरकी १३ वर्षीया कमला विक, १० वर्षीया पुतला विक र ८ वर्षीया सुनिता विकलाई सहयोग गरेको हो ।
गएको भदौ १२ गते राति बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगुराँसस्थित आफ्नै घरमा सुतेका ५ जनाको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा ज्यान गएको थियो । जसमा सुनिताका ४० वर्षका बुवा रामसिंह कामी, आमा ३५ वर्षका रामकला कामी, ७ वर्षकी बहिनी गगां बिक, ६ वर्षकी बहिनी प्रमिला बिक र चार वर्षका भाइ रुपलाल बिकको घटनास्थालमा नै ज्यान गएको थियो ।
क्याट्रिक स्थित ब्रिटिश गोर्खा नेप्लिज कम्युनिटीले ज्ञानेन्द्र आलेको संयोजकत्वमा ‘कमला, पुतला, सुनिता बिक सहयोग अभियान’ सुरु गरेको थियो । अभियानमा १०० जनाभन्दा बढी व्यक्ति र संस्थाले ३ हजार ४९८ पाउण्ड २६ पेन्स सहयोग संकलन गरेका थिए ।
कम्युनिटीका अध्यक्ष राम मल्ल, अभियान संयोजक नन्दराज राई र ज्ञानेन्द्र आलेले सहयोगदाता सबैलाई धन्यवाद दिएका छन् ।
सो रकम जनता बैँक थारमारे, सल्यानमा बालिकाहरुको बाजेको नाममा बैँक खातामा जम्मा गरिएको छ । पाँच वर्षपछि बालबालिकाकाे अाफ्नै खाता भएपछि सो रकम बालकालिकालाई नै हस्तान्तरण गरिने बताइएको छ ।






