अफगानिस्तानको काबुलमा बुधवार भएको जीफोरएसको कार्यलयमा भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएको बीबीसीले बताएको छ ।
ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका आफ्ना कर्मचारीका परिवारलाई यसबारे जानकारी गराएको बताएको छ । घटनाको जिम्मेवारी तालिबानले लिएको छ ।
अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार सो घटनामा चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो ।
आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपाली र पाँच ब्रिटिश नागरिक घाइते भएको बताएको छ ।
अफगान अधिकारीहरूका अनुसार कार बम विस्फोट गराएपछि पाँचजना सशस्त्र आक्रमणकारीहरू जीफोरएसको परिसरमा प्रवेश गरेका थिए ।
त्यसपछि दोहोरो गोली हानाहान भएको थियो ।
घटना हुँदा सो स्थानमा ३३० व्यक्ति रहेका थिए । तीमध्ये अधिकांश विदेशी थिए ।
आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ ।
जीफोरएस विश्वकै सबभन्दा ठूलो सुरक्षा कम्पनीमध्ये एक हो । उसले ब्रिटिश दूतावास वरपरको क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ ।
पछिल्लो हिंसा राष्ट्रपति अशरफ गनीले तालिबान समूहसँग शान्ति सम्झौताका लागि योजना अघि सारेको केही घण्टामा भएको हो ।
अफगानिस्तानमा कति छन् नेपाली ?
द्वन्द्वग्रस्त अफगानिस्तानमा उल्लेख्य सङ्ख्यामा नेपालीहरू पनि कार्यरत छन् ।
तीमध्ये कतिपय सुरक्षा क्षेत्रमा संलग्न छन् ।
यसअघि सन् २०१६ को जुनमा राजधानी काबुलमा गरिएको एउटा आक्रमणमा १२ जना नेपाली मारिएका थिए ।
सो आक्रमणलाई आतङ्कवादी घटना भन्दै नेपाल सरकारले त्यसको भर्त्सना गरेको थियो ।
वैदेशिक रोजगारीको लागि औपचारिक रूपमा खुल्ला नगरिएको अफगानिस्तानमा नेपाली कति सङ्ख्यामा छन् भन्ने स्पष्ट छैन ।
एजेन्सी






