निर्मला पन्त बलात्कार र हत्या प्रकरण : समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौं– कञ्चनपूरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कारपछि हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएको छ ।

सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन टोलीले मंगलबार गृहमन्त्री थापालाई भेटेर छानविन प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा यसअघि प्रहरी नेतृत्वमा गठित छानविन समितिको कमजोरी रहेको उल्लेख छ । यस्तै सन्दीग्ध भनिएका व्यक्तिहरुलाई कारबाहीको सिफारिस गरिएको छ । यद्यपी यसबारे संयोजक मैनालीले केही कुरा बताउन चाहेनन् ।

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका संकास्पद देखिएपछि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका सहसचिव मैनालीको नेतृत्वमा भदौ ७ गते छानबिन समिति गठन गरेको थियो ।

समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो । समितिले अनुसन्धानमा देखिएका सबै कुरा प्रतिवेदनमा उल्लेख गरेको बताएको छ ।

समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारे ।

पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।