लण्डनमा मिनी नेपाल हेर्न पुगे हजारौं नेपाली [भिडियो]फोटो फिचर

शिब भण्डारी

लण्डन । दशौं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ । आइतबार लण्डनको केप्टन पार्क रेसकोर्समा आयोजित मेलामा हजारौं दर्शकको सहभागिता थियो । वर्षाका कारण बिग्रिएको मौसमलाई वेवास्ता गर्दै उल्लेख्य सहभागीहरु मेलामा सहभागी बनेका थिए ।

नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गर्दै लण्डनमा दशौं नेपाली मेला सम्पन्न भएको हो । मेला हेर्न पानीको प्रबाह नगरी छाता ओडेर बेलायतका विभिन्न क्षेत्रबाट हजारौं नेपालीहरु भेला भएका थिए ।

तमुधि युकेले हरेक वर्ष आयोजना गर्ने नेपाली मेलामा यस वर्ष झण्डै आठ हजार नेपाली सहभागी भए ।

झांकीमा उनीहरुका आ-आफनो भेष, भुषा, रीतिरिवाज र संस्कृति झल्किएका थिए ।

नेपाली मेलामा यसपटक गत वर्षको भन्दा पनि बढि ३७ वटा सांस्कृतिक झांकीहरु प्रस्तुत गरिएको थियो । जसमध्ये विगतका २ वर्षको विजेता लमजुंग समाज यूकेले यसपटक पुनः सर्वोत्कृष्ट बन्दै लगातार तीन पटक एम्बासडर कप जितेर ह्याट्रिक गरेको छ । झांकीतर्फ सिक्लेस पर्चे समाज यूके दोस्रो र श्री मेश्राम बरम घान्द्रुक वेलफेयर सोसाइटी तेस्रो स्थानमा आउन सफल भए । सांस्कृतिक नृत्यको प्रस्तुतितर्फ भने घान्द्रुक वेलफेयर सोसाइटी यूके प्रथम, लमजुंग समाज यूके दोस्रो र सिक्लेस पर्चे समाज यूके तेस्रो बने । कार्यक्रमको पहिलो औपचारिक चरणमा शुभकामना मन्तव्य दिदैं कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुगाृबहादुर सुवेदीले मेलाले बेलायतबासी नेपालीहरुलाई एकताको सुत्रमा बांध्ने काम गरेको धारण व्यक्त गरे । नेपाल वहुजातीय, वहुसांस्कृतिक, वहुभाषिक र वहुधार्मिक मुलुक भएको जनाउंदै मेलामा प्रस्तुत झांकी, गीतसंगीत र नृत्यले नेपाली संस्कृति र सभ्यताको पहिचान दिलाएको बताए ।

औपचारिक कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले नेपाली कला संस्कृति, भाषा र परम्परा संरक्षण गर्ने परिकल्पनासहित नेपाली दूतावास र विभिन्न संघसंस्थाको सहयोगमा सन् २००९ देखि नेपाली मेला शुरु गरिएको जनाए । दर्शको अवधिमा मेला बेलायतका सबै नेपालीको साझा मेला बन्न सफल भएको बताए ।

त्यसअवसरमा मेलाका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, पर्यटनमन्त्री रविन्द्र अधिकारी र तमु धि यूके संरक्षक एवम एनआरएन केन्द्रका पूर्व अध्यक्ष शेष घलेले पठाएका शुभकामना भिडियोहरु देखाइएको थियो ।

नेपाली मेला २०१८ मा निर्णायक टोली

कार्यक्रममा तमु धि युकेका उपाध्यक्ष तथा मेला संयोजक हितकाजी गुरुंगले स्वागत मन्तव्य दिएका थिए भने महासचिव कृष्ण गुरुंगले कार्यक्रम सञ्चालन गरेका थिए ।

गुल्मेली प्रथम नौमति बाजा युके

कार्यक्रममा बेलायतस्थित विभिन्न कुटनितिक नियोगका प्रतिनिधी, स्थानीय मेयर, काउन्सिलरहरुका साथै नेपाली संघसंस्थाका प्रतिनिधीहरुको अतिथीका रुपमा उपस्थिति थियो । कार्यक्रममा युवाहरुले पनि विभिन्न सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । दिनभर लगातार रुपमा भएको वर्षाका कारण मेलास्थलमा राखिएका विभिन्न व्यवसायका स्टलहरुलाई भने असर पुगेको देखिन्थ्यो ।तमुधि युकेले सन् २००९ देखि हरेक वर्ष मेलाको आयोजना गर्दै आएको छ ।

हेर्नुहोस् लण्डन नेपाल न्यूज डट कम का प्रधान सम्पादक शिब भण्डारीले तयार पारेको स्थल्गत भिडियो रिपोर्ट 

https://www.facebook.com/londonnepalnews/videos/679698585731382/

https://www.facebook.com/londonnepalnews/videos/268501670639923/

https://www.facebook.com/londonnepalnews/videos/261188471203826/