उल्लासका साथ मनाइयो नेपाल–आयरल्याण्ड दौत्य सम्बन्ध, राष्ट्रपति पनि सहभागी (फोटो फिचर

लण्डन ।नेपाल र आयरल्याण्डबीच दौत्य सम्बन्ध स्थापना भएको बीसौं वर्ष भएको छ । २० औं वर्ष सुरु भएको अवसरमा आयरल्याण्डमा एक विशेष समारोह आयोजना गरिएको छ । आयरल्याण्डका लागिसमेत हेर्ने बेलायती राजदूत डा. दुर्गाबहादुर सुवेदीले गत शनिबार राजधानी डब्लिनमा आयोजना गरेको नेपाल आयरल्याण्ड मैत्री दिवस कार्यक्रममा आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्स प्रमुख अतिथि थिए । समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति हिगिन्सले भौगोलिक रुपमा आयरल्याण्ड र नेपाल टाढा रहे पनि दुई मुलुक कला, साहित्य, संगीत संस्कृति र प्रकृतिको समृद्धि एवं शान्ति, मैत्री, भातृत्व र विश्ववन्धुत्वप्रतिको समान आस्थाका कारण नजिक रहेको बताए । सन् २०१५ मा नेपालको संविधानसभाले जारी गरेको संविधानलाई लोकतान्त्रिक, समावेशी र विधिको शासनका मूल्य र मान्यताहरु समाहित विश्वकै एक उत्कृष्ट संविधानका रुपमा उनले टिप्पणी गरे । राष्ट्रपति हिगिन्सले आयरल्याण्डका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी विद्वता र कूटनैतिक कौशल दुवै गुणले अन्तनिर्हित एक सफल व्यक्तित्व रहेको भन्दै प्रशंसा गरे । विशिष्ट अतिथि आयरल्याण्ड नेपाल फ्रेन्ड्रसिप ग्रुपका संयोजक आइरिस सांसद श्रीमती मरिन ओ सुलिभानले आयरल्याण्ड र नेपालवीचको सम्बन्ध सरकारी सम्वन्धका साथसाथै संसदीय स्तरमा समेत विस्तारित भएको उल्लेख गर्दै दुई मुलुकवीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले मैत्री सम्वन्धलाई अझ सुदृढ र सुमधुर बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिन् । समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाल र आयरल्याण्डवीच दौत्य सम्वन्ध स्थापना भएको वीसौं वर्ष प्रवेश गरेको सुखद उपलक्ष्यमा आयरल्याण्डका महामहिम राष्ट्रपतिको उपस्थितिले हर्षित र गौरवान्वित तुल्याएको बताए । वि.स २०७२ को विनाशकारी भूकम्पको कठिन समयमा आइरिस सरकार र जनताबाट प्राप्त सहानूभूति, सदभावना र सहयोगका लागि नेपाली सरकारका तर्फबाट राजदूत डा सुवेदीले कृतज्ञता ज्ञापन गर्दै नेपाल सरकारको विकास प्रयासमा आइरिस सरकारको सहयोगको निरन्तरता रहने विश्वास पनि गरे । विशेष समारोहमा आयरल्याण्डमा रहेर नेपाली भाषा, साहित्य, कला, संगीत, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन एवं नेपाली समुदायको एकता र भातृत्व अभिवृद्धिका लागि उल्लेखनीय योगदान गर्ने आठ जना अग्रज समाजसेवी नेपालीहरु दीपेशमान शाक्य, गणेश प्रसाईं, गंगाराम कँडेल, जीवन तिमिल्सिना, कृष्णकुमार डंगोल, नवराज कोइराला, राजेन्द्र काफ्ले र शारदा खत्री प्याट्रिक्यू लाई राष्ट्रपति र नेपाली राजदूतले सम्मान गरेका थिए । समारोहमा स्थानीय नेपाली कलाकारहरुले नेपाली कला र संस्कृति झल्कने सात वटा नृत्यहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा राजदूत सुवेदी र श्रीमती सुवेदीले महामहिम राष्ट्रपति र उनकी धर्मपत्नी श्रीमती सविना हिगिन्सलाई नेपालको प्रकृति र संस्कृति झल्किने दुई वटा कलात्मक नेपाली तेल चित्र उपहार प्रदान गरे । कार्यक्रममा आइरिस संसदका सदस्यहरु, पूर्व मन्त्रीहरु, आयरल्याण्डका सर्वोच्च न्यायालयका न्यायाधीश, नगरप्रमुखहरु, आयरल्याण्डस्थित विभिन्न मुलुकका राजदूत एवं कूटनैतिक प्रतिनिधिहरु, नेपालका लागि युरोपियन युनियनका राजदूत, आइरिस सरकारका उच्च पदस्थ पदाधिकारीहरु, गैरआवासीय नेपाली संघ, आयरल्याण्डका अध्यक्ष तथा पदाधिकारीहरु, नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष तथा पदाधिकारीहरु, सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आइरिस पर्वतारोहीहरु एवं नेपालमा सञ्चालित आइरिस गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु गरी तीन सय भन्दा बढी अतिथिहरु सहभागी थिए । दूतावासका तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

photo credit–Alison Irwin