रााष्ट्रियसभा बैठकले पुर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरत शमशेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सोमबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकले राणाको निधनमा शोक प्रस्ताव पारित गरेको हो । राणाको ९१ बर्षको उमेरमा साउन २५ गते शुक्रबार भारतको कोलकत्तामा निधन भएको हो ।
राणा २०१५ सालको पहिलो आम निर्वाचनमा गोर्खा परिषद्को तर्फबाट धादिङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । नेपालको प्रथम संसदका प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनु भएका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य राणा लोकतन्त्र र गणतन्त्रको पक्षमा शुरुदेखि नै संघर्षरत एक प्रखर व्यक्तित्वको रुपमा चिनिदै आएका थिए ।
बैठकमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो । राष्ट्रिय सभाको अर्को बैठक २९ गते मंगलबार अपरान्ह २ बजेका लागि बोलाईएको छ ।






