नेविसंघ अध्यक्ष महरलाई दश दिने अल्टिमेटम

काठमाडौं– काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद आगामी भदौ २ गतेसम्म तोकिएको छ । आज बसेको निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेविसंघको महाधिवेसनका लागि भएको कार्ययोजना निर्देशक समितिलाई दश दिनभित्रै बुझाउन पनि निर्देशन दिएको छ ।
नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतको घरमा बसेको निर्देशक समितिको बैठकले भदौ २ सम्म वर्तमान कार्यसमितिको कार्यकाल रहने टुङगो लगाउदै कार्ययोजना मागेको हो । विशेष परिस्थितिमा तीन महिना अवधि बढाउन सक्ने प्रावधान अनुसार तीन महिनामा अधिबेसन गर्ने आधार पेश गर्न निर्देशक समितिले अध्यक्ष नैनसिंह महरालाई निर्देशन दिएको काँग्रेस मुख्य सचिव कृष्ण पौडेलले जनाएका छन् ।
संघको १२ औं महाधिवेसनका विषयलाई लिएर आन्तरिक विवाद भएपछि निर्देशक समितिको बैठक बसेको हो ।
यसैवीच नेविसंघको असन्तुष्ट समुहले आजै प्रज्ञा भवनमा एक कार्यक्रम गरी महाधिबेसन नगर्ने षड्यन्त्र भइरहेको भन्दै आक्रोश व्यक्त गरेको छ । महामन्त्री कुन्दनराज काफ्लेलगायतका नेता अध्यक्ष महरसँग असन्तुष्ट छन् ।