इरानको अमेरिकालाई चेतावनीः तिमी युद्ध सुरु गर, अन्त्य हामी गर्छौं

इरान र अमेरिकाबीचको तनाव लगातार बढिरहेको छ । यी दुई देशले एक अर्कालाई लगातार धम्की दिइरहेको छ । बिहिबार इरानले अमेरिकालाई अर्को धम्की दिएको छ ।

इरानको विशेष सेनाका एक कमान्डरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धम्की दिएका छन् । उनले भने, ‘यदि अमेरिकाले इरानमाथि हमला गरे अमेरिकाको सबैकुरा ध्वस्त पारिदिन्छौं ।’

मेजर जनरल कासिम सुलेमानीको भनाई उद्धृत गर्दै इरानी समाचार एजेन्सीले भनेको छ – यदि ट्रम्पले युद्ध सुरु गरे इस्लामिक रिपब्लिकले यसलाई समाप्त गर्नेछ ।

ट्रम्पले इरानका राष्ट्रपतिलाई कहिले पनि अमेरिकालाई धम्की दिने कोसिस नगर्नु भनी ट्वीट गरेपछि उनको यस्तो बयान आएको हो ।

अमेरिका सन् २०१५ मा इरानसँगको परमाणु सम्झौताबाट बाहिरिएपछि दुबै देशबीचको तनाव गहिरिएको छ ।

इरानको रिभोलुशनरी गार्डस्को कुद्स फोर्सका प्रमुख कमान्डर जनरल कासिम सुलेमानीले बिहिबार भने, ‘एक सैनिक भएको नाताले तपाईंको धम्कीको जवाफ दिनु मेरो कर्तव्य हो ।’

‘राष्ट्रपति हसन रुहानीसँग होइन, मसँग कुरा गर्नुहोस् । तपाईंलाई जवाफ दिनु हाम्रो राष्ट्रपतिको गरिमामा छैन ।’

‘हामी तपाईंको नजिक छौं, यति नजिककी तपाईंले सोच्न पनि सक्नुहुन्न । आउनुहोस् । हामी तयार छौं ।’

‘तपाईंले युद्ध सुरु गर्नुहुनेछ । हामी त्यसको अन्त्य । यो युद्धले तपाईंको सबैकुरा नष्ट गरिदिनेछ ।’

जनरल कासिम सुलेमानीले अमेरिकी राष्ट्रपतिमाथि आपत्तिजनक भाषा प्रयोग गरेको आरोप पनि लगाए ।

आइतबार ट्रम्पले इरानी राष्ट्रपतिका लागि धम्कीपूर्ण ट्वीट गरेका थिए ।

त्यसको दुई दिनपछि पूर्व सैनिकको एक समूहसँग कुरा गर्दै राष्ट्रपतिले अमेरिका इरानसँग भिन्न सम्झौता गर्नका लागि तयार भएको बताएका छन् ।

ट्रम्पले उक्त ट्वीटर हसन रुहानीको धम्कीको जवाफमा गरेका थिए ।

इरानको समाचार एजेन्सी अनुसार हसन रुहानीले भनेका थिए, ‘अमेरिकाले यो थाहा पाउनुपर्छ कि इरानसँगको सम्बन्धमा शान्ति स्थापित गर्नुहुन्छ भने पूरा संसारभरी शान्ति छाउनेछ र यदि इरानसँग युद्ध गरे यसले ठूलो रुप लिन सक्छ ।’