जेलभित्र रहेका नवाज शरिफको मृगौला फेल हुने स्थितीमाः डाक्टरले भने, ‘जेलबाट तत्काल अस्पताल पुर्याउ’

भ्रष्टाचारको मामलामा जेलभित्र रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको आइतबार अचानक स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्य परिक्षण गर्ने मेडिकल बोर्डका अनुसार नवाजको मृगौला फेल हुने स्थितीमा छ । उनलाई तत्काल जेलबाट अस्पताल पुर्याउनु पर्ने स्थिती देखिएको डाकटरले बताएका छन् ।

यद्यपी, उनलाई तत्काल अस्पताल पठाइने छैन । सुरुमा पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सको समूहले उनको परिक्षण गरेपछि मात्र उनलाई अस्पताल लग्ने÷नलग्ने भन्ने बारे बिचार गरिने बताइएको छ ।

यता, रावलपिन्डी इन्स्टिच्युट अफ कार्डियोलोजीका प्रमुख डा. अजहर कियानीले नवाज शरिफलाई तुरुन्त अस्पतालमा भर्ना गर्न सिफारिस गरेका छन् । उनको मेडिकल रिपोर्ट पंजाब प्रान्तका मुख्यमन्त्री र केयरटेकर हसन अकसारीलाई पठाइएको छ । संघीय सरकारलाई नवाज शरिफको स्वास्थ्य र डाक्टरको चिन्ताबारे पनि जानकारी दिइएको छ ।

एक्सप्रेस न्यूजका अनुसार शरिफको पिसाबमा नाइट्रोजनको स्तरमा अत्यधिक वृद्धि भएको छ । डाक्टरले नवाजलाई अत्यधिक पसिना आएका कारण डिहाइड्रेशनको समस्या पैदा भएको छ र शरिरमा पनि पानीको कमी भएको बताएका छन् । साथै उनको मुटुको गती पनि अनियमित तरिकाले चलिरहेको डाक्टरले जानकारी दिएका छन् ।

रिपोर्टका अनुसार जेलको अस्पतालमा राम्रो सुविधा नभएकाले उनलाई स्लाइन चढाउन सकिन्नँ । त्यसकारण उनलाई अस्पतालमा नै भर्ना गर्न आवश्यक भएको डाक्टरको भनाई छ । यदि उनलाई तुरुन्त अस्पताल भर्ना नगरे रातीको कुनै पनि समयमा उनको स्वास्थ्यस्थिती बिग्रन सक्ने चेतावनी डाक्टरले दिएका छन् । आदियाला जेलमा दिइने खानाका कारण नवाजको पिसाबमा नाइट्रोजनको मात्रा बढेको बताइएको छ ।

एजेन्सी