एनबिसी यूकेको सी साइड ट्रिपमा ३ सय बढिको सहभागिता

 लण्डन । बेलायतस्थित नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी ) यूकेले हरेक वर्ष आयोजना गर्दै आएको सी साइड ट्रिप यस वर्ष पनि उल्लेख्य सहभागिताका साथ सम्पन्न भएको छ । गत शनिबार बेलायतको वेमाउथ बिचको यात्रामा ३ सय १५ जना सहभागी बनेको एनबिसीले जनाएको छ ।
संस्थाले हरेक वर्ष गर्दै आएको यो कार्यक्रम सहभागीहरु माझ लोकप्रिय रहदै आएको छ । वेमाउथ ट्रिपका लागि विभिन्न ६ वटा कोचमा सहभागीहरु त्यसतर्फ गएका थिए । हरेक कोचमा निकै रमाईलोसंग नाचगान, मुक्तक, चुटकिला, कविता, तथा अन्य कार्यक्रमहरुका साथसाथै समुद्री किनारमा पनि नाचगान सहित मनोरन्जनात्मक कार्यक्रमहरु गरिएको थियो । लक्की ड्र मार्फत हरेक कोचमा एक जना गरी कुल ६ जना भाग्यमानी सहभागीलाई पुरस्कार वितरण पनि गरिएको थियो ।
संस्थाका कोओर्डिनेटर मिलन घिमिरेले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने तथा कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद ज्ञापन गरे । राजेन्द्र ओझाको कोओर्डिनेसनमा सम्पन्न सो कार्यक्रममा कोच लिडरको भुमिका समिर प्याकुरेल, सुमन गुरुङ, राजेन्द्र ओझा, लेखनाथ घिमिरे, कमल राज खनाल, अन्जु सिग्देल, बसन्त नेपाल, ऋषि खनाल, प्रभु न्यौपाने, भगवती रानाभाट, हरिभक्त न्यौपाने लगायतले गरेका थिए ।
कार्यक्रमका संयोजक तथा सम्पुर्ण कोच लिडरहरुलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरिएको सचिव चुरामणी रेग्मीले बताए ।