काठमाडौं– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार विश्वराज मैनालीले रातोपाटीमा प्रकाशित ‘खरिदारले खोले सीडीओ र एसपीको घुसको पोल’ शीर्षकको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
मङ्गलबार समाचारमाथि आफ्नो धारणा पठाउँदै खरिदार मैनालीले रातोपाटीमा प्रकाशित आफ्नो नामसमेत मुछिएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै कसैले फसाउने नियतले सञ्चार माध्यमलाई अडियो दिएको हुनसक्ने बताएका छन् ।
‘त्यसरी सीडीओ साप र एसपी साप समेतलाई विवादमा पार्नेगरी मैले कुरा गरेको छैन’, मैनालीले कुरा गर्दै भनेका छन्, ‘प्रसङ्गवस कतै गफ गरेको कुरालाई लिएर माला कारोबारीहरूले मलाई विवादमा ल्याएको हुनसक्छ ।’
आफ्नो स्थायी घर काभ्रेको तिमालमा भएको हुनाले बुद्धचित्त मालाबारे केही जानकार रहेको उल्लेख गर्दै मैनालीले बुद्धचित्त माला सीडीओ र एसपीलाई नमिलाई टिप्नै नसक्ने कुरा आफूले नबोलेको दाबी गरेका छन् ।
यद्यपि उनको अडियो टेप भने सुरक्षित छ ।
सीडीओ र एसपीको पोल खोल्ने खरिदार भने– विवादमा पार्नेगरी मैले कुरा गरेको छैन






