भारतीय जनता पार्टीका युवा मोर्चाका नेता अतुल लोखन्डेले मंगलबार राती आफ्नो कन्चटमा गोली हानेका छन् ।
भारतीय समाचार माध्यमका अनुसार उनी विवाहको प्रस्तावसहित प्रेमिकाको घर पुगेका थिए तर बुवाले अस्विकार गरिदिए ।
स्रोतका अनुसार त्यसको १० मिनेट अघिमात्र उनले १३ वर्ष पुरानो आफ्नो प्रेम प्रसंगबारे फेसबुकमा लेखेका थिए । ३० वर्षका अतुल घरभन्दा दुई सय मिटर पर बस्ने युवतीलाई प्रेम गर्दथे । २७ वर्षे युवती बैंकमा प्रोबेशनरी अफिसर (पीओ) हुन् ।
सीएसपी उमेश तिवारीका अनुसार मंगलबार राती करिब सवा नौ बजे अतुल आफ्नी प्रेमिकाको घर पुगे । ढोका प्रेमिकाका बुवाले खोले । अतुलले विवाहको प्रस्ताव राखे तर बुवाले अस्विकार गरे । रिसाएका अतुलले आफ्नो खल्तीमा राखेको बन्दुक निकालेर कन्चेटमा हाने । गोलीको आवाज सुनेर वरिपरीका मानिस घटनास्थल पुगेर अतुललाई नजिकैको पारुल अस्पताल पुर्याए । गोली टाउको भित्र फसेको छ । अबेर राती डाक्टरले उनलाई ब्रेन डेड घोषित गरेका छन् ।
मर्यौ भने विवाहका लागि सात जन्म छ निः
अतुलले घटना हुनु १५ मिनेट अघि नै फेसबुक पोष्टमा लेखेका थिए, ‘उनका बुवाले भनेका थिए आज बेलुकी घर आउ आफ्नी प्रेमिकाको लागि मरेर देखाउ… यदि प्रेम गर्छौ भने । बाँच्यौ भने तिमीहरु दुबैको विवाह पक्का, मर्यौ भने अर्को सात जन्म त छँदै छ नि । पुनः जन्मिएर विवाह गर्नु । म रश्मीको घरमा नै छु । मलाई यहाँबाट लैजाउ, जिउँदो भए म आफैं आउनेछु, उनलाई पनि बाचा गरेको थिएँ । एउटा बचन त पूरा गर्न सकिनँ दोस्रो बाचा, म तिमीबिना बाँच्न सक्दिनँ त्यसकारण जाँदै छु…. सबैले यही भन्नेछन् केटीको चक्करमा गयो । घर परिवारबारे एकपटक पनि सोचेन । सबैबारे सोचेर नै यो कदम उठाएको हुँ । उनीबाहेक अरु केही पनि देखिरहेको छैन, अत्यधिक कोसिस गरें, बिर्सनै सकिनँ र बिर्सने त अरुलाई हो, आफ्नोलाई होइन ।’
आमाका लागि लेखे, ‘हरेक जन्ममा तपाईंकै छोरा बन्नेछु’
अतुलले फेसबुक पोष्टमा लेखे, ‘उनलाई (प्रेमिका) लाई कसैले पनि केही नभन्नु, गलत नसम्झनु । सबै गल्ती मेरो हो । सबैकुरा मेरो कारणले नै बिग्रियो । १३ वर्ष उनीसँगको प्रेमसम्बन्धमा रहँदा पनि उनको सपनालाई पूरा गर्न सकिनँ । तिमीले पनि १३ वर्षको हाम्रो सम्बन्धलाई कसरी बिर्सियौ । बुवाको अगाडि किन डरायौ, एकपटक हिम्मत देखाएको भए आज जीवन अर्कै हुन्थ्यो । आमा, सबैजनाले भन्छन् कि सात जन्म हुन्छ । यदि यो वास्तविक हो भने हरेक जन्ममा म तपाईंको छोरा हुनेछु । तपाईं जस्तो आमा संसारभरी नै छैन ।’






