बेल्जियमका एक कलाकारले जेरुशेलमको पवित्र पर्खाल अगाडि नग्न फोटोसुट गराएपछि विवाद निम्तिएको छ । जेरुशेलम यहुदी, मुसलमान र इसाईका लागि अत्यधिक पवित्र तीर्थस्थल मानिन्छ ।
मेरिसा पापेन नामकी यी मोडलको फोटोसुटमाथि विवाद भएको यो पहिलो घटना भने होइन ।
यसअघि उनले इजिप्टको एक प्राचिन मन्दिर अगाडि नग्न फोटोसुट गराएकी थिइन् जसका कारण उनलाई पक्राउसमेत गरिएको थियो ।
मेरिसाले एउटा छतमा झुकेर पश्चिम पर्खालतर्फ हेर्दै नग्न फोटोसुट गराएकी छिन् ।
‘द वाल अफ शेम’
उनले शनिबार आफ्नो वेबसाइटमा एउटा पोष्ट लेखेकी छिन् जसलाई उनले ‘द वाल अफ शेम’ नाम दिएकी छिन् ।
उनका अनुसार इजिप्टमा गराएको फोटोसुटको अनुभवपछि उनी धर्म र राजनीतिको सीमालाई कमजोर बनाउन बाध्य भएकी छिन् ।
मेरिसाले पोष्टमा लेखिन्, ‘म एउटा यस्तो दुनियाँमा आफ्नो व्यक्तिगत धर्म देखाउन चाहन्छु जहाँ स्वतन्त्रता कुनै अत्यधिक मूल्यवान वस्तु झैं दुर्लभ हुँदै गएको छ ।’
मेरिसाले आफू मे महिनामा तीन दिनका लागि जेरुशेलम गएको जानकारी दिइन् । उनी भन्छिन्, ‘संयोगवश मे महिनामा नै जेरुशेलमको ७० औं स्थापना दिवस मनाइएको थियो र त्यहि महिना जेरुशेलममा अमेरिकी दूतावास खोलिएकोमा विवाद पनि भएको थियो ।’
इजराइलको झण्डामा बेरिएको तस्बिरः
मोडलले जेरुशेलम यात्राको थुप्रै तस्बिर आफ्नो वेबसाइटमा पोष्ट गरेकी छिन् ।
यीमध्ये एक तस्बिरमा उनी इजराइलको झण्डामा बेरिएकी छिन् भने अर्कोमा जेरुशेलमको पवित्र पश्चिमी पर्खालको अघिल्तिर नग्न भएर पोज दिइरहेकी छिन् । उक्त पर्खाल यहूदी समुदायका लागि अत्यधिक महत्वपूर्ण छ । उनीहरु त्यहाँ प्रार्थना गर्छन् ।
मेरिसाको यी तस्बिरमाथि मानिसहरुले विभिन्न कमेन्ट गरिरहेका छन् ।
कतिले उनीमाथि यहुदीका विरुद्ध दुर्भावनाको आरोप लगाएका छन् भने कतिले मोडलले जानीजानी त्यस्ता स्थानमा तस्बिर खिचाइन् जसलाई मुसलमान पवित्र मान्छन् भन्दै उनको आलोचना गरिरहेका छन् ।
यद्यपी, मेरिसाले ‘द टाइम्स अफ इजराइल’ वेबसाइटलाई दिएको अन्तर्वार्तामा उनले पर्खाल अगाडि तस्बिर राम्रो आउने भएकाले त्यहाँ खिचेको स्पष्टिकरण दिएकी छिन् ।
गत वर्ष सेप्टेम्बरमा मेरिसाले एक सनग्लासको विज्ञापनका लागि इजिप्टको एक प्राचिन मन्दिर अगाडि नग्न फोटो गराएकी थिइन् जसका कारण ठूलै विवाद निम्तिएको थियो ।
पछि उनले पिरामिडभित्र फोटोसुट गराउनका लागि इजिप्टका अधिकारीबाट अनुमती नपाएको तर उनले पुलिसकर्मीलाई घुस दिएर त्यहाँ तस्बिर खिचाएको जानकारी दिइन् ।
इजिप्टमा आफ्नो अनुभवबारे मेरिसाले भनिन्, ‘हामीले त्यहाँ आएका दुई मानिसहरुलाई हामी कलाको हिसाबले त्यहाँ फोटोसुट गराइरहेको र हाम्रो मनमा इजिप्टको संस्कृतीका लागि अत्यधिक सम्मान छ भनेर सम्झाउने कोसिस गर्यौं उनीहरुले नग्नता र कलाबीचको सम्बन्धलाई बुझेनन् । उनीहरुका लागि यी सबै पोर्नजस्तो थियो ।’
मेरिसा र उनका क्यामरापर्सनको समस्या त्यतिबेला बढ्यो जब उनीहरुले इजिप्टको ऐतिहासिक शहर लक्सरमा नग्न फोटोसुट गराइरहेका थिए र पुलिसले उनीहरुलाई पक्राउ गरेका थिए । त्यसपछि उनीहरुले इजिप्टको जेलमा एक रात बिताउनु परेको थियो ।







