मेस्सी पेनाल्टीमा चुके ,आइसल्यान्डले अर्जेन्टिनालाई बराबरीमा रोक्यो

विश्वकप फुटबलको समूह ‘डि’ को पहिलो खेलमा अर्जेन्टिनालाई आइसल्याण्डले १–१ गोलको बराबरी खेलेको छ ।

डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गरेको आइसल्याण्डले बलियो प्रतिद्वन्द्वीलाई रोक्न सफल भएको हो ।

पुरै समयअवधिभर अर्जेन्टिनाले बल नियन्त्रणमा लिए पनि गोल गर्न भने सकेन । खेलको ६४औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, पेनाल्टीको सदुपयोग कप्तान लियोनल मेस्सीले गर्न नसकेपछि अग्रता बनाउनबाट अर्जेन्टिना चुकेको थियो ।

आइसल्याण्डका खेलाडीले डिबक्सभित्र फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टी हान्ने क्रममा मेस्सी फेरि एक पटक चुकेका हुन् । उनको बल आइसल्याण्डका गोलरक्षकले बचाएका थिए ।

दुबै टिमले पहिलो हाफमा गोल गरेका थिए । खेलको १९औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । अर्जेन्टिनाका लागि कुन अगुएरोले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए ।

तर, अर्जेन्टिनाको अग्रता ४ मिनेटसम्म मात्रै टिक्न सक्यो । आइसल्याण्डका लागि खेलको २३औं मिनेटमा अल्फ्रेड फिन्बोगासनले गोल गर्दैै बराबरी बनाएका थिए ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले प्रहार गरेको बललाई आइसल्याण्डका किपरले उत्कृष्ट बचाउ गरेका थिए । मेस्सीलाई खुलेर खेल्न आइसल्याण्डका खेलाडीले दिएनन् ।