काठमाडौं- डाक्टर गोविन्द केसीले वर्तमान सरकार र सरकारमा सहभागी मन्त्रीहरुले पञ्चायतकालिन राजा महाराजाको प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।
अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सनिबार माईतीघर मण्डलामा मुखमा टेप टांसेर विरोध गरेका डाक्टर केसीले सरकारले जनतालाई रैति ठान्ने गरेको दाबी गरे ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्दै सरकार एकतन्त्रिय र स्वईच्छाचारी ढंगले अघि बढेकाले आफुले मुखमा टेप लगाएर विरोध गर्नुपरेको स्पष्ट गरे ।
उपत्यकाका ७ स्थान बाहेक अन्यन्त्र सभा, सम्मेलन, प्रर्दशनमा रोक लगाउने सरकारको निर्णयलाई चुनौति दिदै उनले मण्डलामै बसेर जनताको अधिकारका लागि आवाज बुलन्द पार्ने बताए ।
भ्रष्टाचार नियन्त्रण गर्छु भन्ने सरकारका मन्त्रीहरुनै भ्रष्टाचारी भएको दाबी गरे ।
प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरु स्वच्छ छविका भएमा ५० प्रतिशत भ्रष्टाचार कारवाही नगरिकनै कम हुने दाबी गरे ।
चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर पारित गर्नुपर्ने लगायत ६ बुँदे माग अघि सार्दै डाक्टर केसीले पुरा नभए सत्याग्रह सहित आन्दोलनका कडा कार्यक्रम ल्याउने चेतावनी दिए ।






