दलहरु र दरवारबीच राजतन्त्र राख्न सहमति भएको कमल थापाको दाबी

१९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दरबार र दलहरुबीच संवैधानिक राजतन्त्र राख्न सहमति भएको दाबी गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते निकालेको विज्ञप्ति स्वभाविक भएको भन्दै उनले त्यो बेला दरवार र दलहरुवीच भएको सहमति ईमान्दारितापूर्वक पालना गरिए मुलुकले निकास पाउने बताए ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा राप्रपा नेपालका अध्यक्ष थापाललेदरवार र दलहरुवीच छलफल भएर २०६२/६३ को आन्दोलन बैशाख ११ गते सम्झौतामा टुङगिएको दावी गरे ।

शाही घोषणा गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा मस्यौदा भएको र दलहरुले राजासमक्ष लिखित प्रतिबद्धता ब्यक्त गरेको भन्दै उनले दल र दरवारबीच संवैधानिक राजतन्त्र र बहुदलीय प्रतिष्पर्घालाई राखेर संविधानसभाको निर्वाचन गर्ने सहमति भएको बताए । थापाले भने-‘आन्दोलन सम्झौतामा टुङगिएको हो । राजाको शाही घोषणाले पुनःस्थापना भएको प्रतिनिधि सभा स्वीकार्ने माओवादीले पनि परोक्ष रुपमा त्यो सम्झौतालाई स्वीकारेको हो ।’

हामी सरकार गिराउने खेल भन्दा बाहिर छौं

राप्रपा नेपालका अध्यक्ष थापाले अहिलेको सरकार गिराउने र बनाउने खेलमा आफ्नो पार्टी नरहेको स्पष्ट पारे । सरकार परिवर्तन आफ्नो पार्टीको एजेण्डा नभएको उनले प्रष्ट पारेका छन् ।

थापाले पुसभित्रै आब्हान हुनु पर्ने ब्यवस्थापिका संसदको हिउँदे अधिवेशन अहिलेसम्म बोलाउन सुरसार नदेखाएको भन्दै तत्काल अधिवेशन बोलाउन माग गरे ।

उनले भने-‘देशमा राष्ट्रियता, प्रजातन्त्र, जनजिविकाको सवाल र शान्ति सुरक्षाको मुद्दा प्रमुख बनेका छन । यस विषयमा संसदमा छलफल गर्न आवश्यक छ । कैयौ विधेयकहरु अलपत्र भएर बसेका छन । त्यसैले सरकारले तुरुन्तै अधिवेशन आब्हान गर्नुपर्छ ।’

प्रजातन्त्रलाई सस्थागत गर्न प्रजातन्त्र र राष्ट्रवादी शक्तिहरु एक ठाँउमा आउनु पर्ने भन्दै कमल थापाले पशुपति शमसेर राणासहितका प्रजातन्त्र र राष्ट्रवादी दलहरुलाई एक ठाँउमा आउन आहृवान गरे ।