एनआरएन यूकेको एक टोली परिषद गठन गर्न वेल्स आजै प्रस्थान गर्ने

लण्डन । एनआरएन यूकेले भोलि आइतबार जुन १७ तारिखका दिन वेल्समा राज्य समन्वय परिषद गठन गर्ने भएको छ । एनआरएन यूकेअन्तर्गत बेलायतका चार वटै राज्यमा समन्वय परिषद गठन गर्ने अभियानमा वेल्समा परिषद गठन गर्न लागिएको हो । एनआरएन यूकेले गत बुधबार सांझ लण्डनको साउथ ह्यारोस्थित हिमालयन किचनमा एक पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गरायो । त्यसअवसरमा एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले संस्थालाई बेलायतमा बस्ने सम्पुर्ण नेपालीहरुको साझा संस्था बनाउने प्रयासमा सबै राज्यमा परिषद गठन गर्न लागिएको बताए ।

एनआरएन यूकेका उपाध्यक्ष तथा राज्य समन्वय विभाग प्रमुख ललित न्यौपानेले सबै राज्यहरुमा रहेका स्थानीय नेपाली संघसंस्थाहरुको सहयोगमा परिषद गठनको काम भइरहेको जानकारी दिए । महासचिव आरके त्रिपाठीले एनआरएन यूकेले बेलायतका सबै नेपालीहरुलाई समेट्ने अभियानलाई प्राथमिकतामा राखेको बताए ।

पत्रकार सम्मेलनमा एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले र संरक्षक योगेन क्षेत्रीले एनआरएन यूकेलाई बेलायतका सबै क्षेत्रका नेपालीहरुमाझ बिस्तार गर्ने लामो समयदेखिको योजना राज्य समन्वय परिषदहरुको गठनसंगै पूरा हुने भन्दै खुशी व्यक्त गरे । एनआरएन यूकेले यसअघि नै नर्दन आयरल्याण्डमा आफ्नो राज्य समन्वय परिषद गठन गरिसकेको छ भने वेल्सपछि इंग्ल्याण्ड र स्कटल्याण्डमा पनि अर्को महिना परिषद गठन गर्ने तयारी छ । स्कटल्याण्डको परिषद गठन जुलाई २ मा र इंग्ल्याण्डको परिषद गठन जुलाई १५ मा गर्ने कार्यक्रम छ ।सम्बन्धित राज्यहरुमा परिषद गठन गर्न भेला आयोजना गर्न तथा समन्वय गर्न वेल्समा प्रभु न्यौपाने, स्कटल्यान्डमा तिलाक भट्टराई र इङ्ल्यान्डमा हयारी गुरुङलाई सह संयोजक तोकिएको छ ।

यसैबीच एनआरएन यूकेका उपाध्यक्ष तथा राज्य समन्वय विभाग प्रमुख ललित न्यौपाने एबम लेवेल्स राज्य समन्वय परिषद गठन समितिका संयोजक प्रभु न्यौपानेले कार्यक्रममा सहभागी भइदिन वेल्सस्थित सम्पुर्ण नेपालीहरुलाई आग्रह गर्दै आफुहरु वेल्स तर्फ आजै नै हिडेको लन्डन नेपाल न्युज डटकमका सम्पादक शिब भण्डारी संगको टेलिफोनमा बताए ।