लन्डनमा सांसद पदम गिरी सम्मानित

लन्डन । प्रवासी नेपाली मंच यूकेले नेपाल कम्यूनिस्ट पार्टीका सांसद पदम गिरीलाई सम्मान गरेको छ । सोमबार साँझ नर्थ ह्यारोस्थित सारस रेष्टुरेन्टमा एक कार्यक्रमका बीच सांसद गिरीलाई स्वागत तथा सम्मान गरेको हो ।

सम्मान पछि कार्यक्रममा सोम्बोधन गर्दै सांसद गिरीले प्रवासी नेपालीसँग हातेमालो गर्दै सरकार अघि बढने बताए । उक्त कार्यका लागि प्रधानमन्त्री केपी ओलीले थिंक ट्याक गठन गर्न लागेका छन् । थिंक टयाकंले शिक्षा, स्वास्थ्य, पुर्वाधार र प्रविधिका क्षेत्रका काम गर्न छुट्टाछुटटै विज्ञहरु रहने छन् । ति विज्ञले सरकार र प्रवासी नेपालीसँग समन्वय गरि मुलुकलागि समृद्ध बनाउन द्रुत गतिमा काम गर्नेछ । सांसद गिरीले दुई तिहाइको सरकार भएकाले जनताले भरोसा गर्न लायक भएको दावी गरे । उनका अनुसार सरकारको उच्च प्राथमिकतामा पूर्वाधार विकास छ । त्यसमा प्रवासी नेपालीको सहयोग अपेक्षा गरिएको उनले बताए ।

प्रवासी नेपाली मंचका अध्यक्ष राजेन्द्र पुडासैनीले दुई पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टीका सांसद गिरीलाई स्वागत गर्दै सरकारले जनआकाक्षा पूरा गर्ने विश्वास व्यक्त गरे । लोकतन्त्रमा जनता भन्दा ठुला कोही नभएको बताउदै मंच अध्यक्ष पुडासैनीले जनताले आफ्नै सरकार भएको अनुभव गर्ने गरि काम गर्न पार्टीलाई आग्रह गरे । उनले बेलायतमा पनि छिट्टै एमाले र माओवादीका प्रवासी संगठनहरु एकीकरण हुने जानकारी दिए । मंचका सस्थापक अध्यक्ष आङकल्जङ लामाले प्रवासका संगठनबारे पार्टीको स्पष्ट धारणा आवश्यक रहेको जनाए ।

निवर्तमान अध्यक्ष रामशरण सिंखडाले प्रवासमा सिकेका ज्ञान र अनुभवलाई नेपाल सरकारलाई हस्तान्तरण गर्न तयार रहेको बताए । जनप्रगतिशील मंच यूकेका पुर्व इन्चार्ज पुर्ण लोक्समले राजनीतिलाई पेशा नबनाई हरेक नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिनु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ यूके शाखाका बरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले पत्रकारहरु नेपालको समृद्धीका लागि हातेमालो गर्दै अघि बढन तयार रहेको जनाए । नर्थ ह्यारोस्थित सारस रेष्टुरेन्टमा भएको स्वागत कार्यक्रममा प्रवासी नेपाली मंच यूकेका उपाध्यक्ष धन क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रममा एनआरएनए यूकेका उपाध्यक्ष शुशिला राई र लेखक नरेश काङवाङ राईलगायतले आ आफ्नो धारणा राखेका थिए ।