राहुलको चमत्कारसँगै पंजाबको शानदार जित, राजस्थान ६ विकेटले पराजित

लोकेश राहुल (अविजित ८४) को शानदार अर्धशतकको सहयोगमा किंग्स इलेभन पंजाबले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ। आइपीएलको ३८ औं खेलमा पंजाबले राजस्थानलाई फराकिलो अन्तरले पराजित गरेको हो। राजस्थानले पहिला ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १५२ रनको स्कोर बनाएको थियो। जसलाई पंजाबले १८.८ ओभरमा चार विकेटको क्षतिमा १५५ रन बनाएर लक्ष्य पूरा गरेको थियो। यो पंजाबको नौ खेलमा छौटौं जित हो। पंजाब १२ अंक सहित अंक तालिकाको तेस्रो नम्बरमा पुगेको छ। राजस्थानले नौ खेलमा छौटौं हारको सामना गर्नु परेको छ।

राजस्थानले दिएको १५३ रनको लक्ष्यलाई पछ्याउँदै पंजाबको सुरुवात राम्रो थिएन। पंजाबले २३ रनको स्कोर बनाउँदा क्रिस गेल (८) र  २७ स्कोरमा मयंक अग्रवाल (२) विकेट झरेको थियो। त्यसपछि राहुलले करुण नायर (३१) सँग मिलेर तेस्रो विकेटकालागि ५० रनको साझेदारी गरे। नायरको विकेट ७९ स्कोरमा विकेट झर्यो। उनले २३ वलमा दुई चौका र दुई छक्का प्रहार गरे। पंजाबले ८७ को स्कोरमा अक्षय पटेल (४) का रुपमा आफ्नो चौथो विकेट गुमायो।

आइपीएलको इतिहासमा सबैभन्दा चाँडो अर्धशतक बनाउने रेकर्ड आफ्नो नाममा राखेका राहुलले फेरि मार्कस स्टोननिस (अविजित २३) सँग पाँचौं विकेटकालागि ६८ रनको अविजित साझेदारी गर्दै पंजाबलाई आठ बल बाँकी हुँदै जित दिलाए।

राहुलले ५४ वलमा सात चौका र तीन छक्का प्रहार गरे। राजस्थानकालागि कृष्णप्पा गौतमले १८ रनमा एक, जोफरा आर्चरले ४३ रनमा एक, बेन स्टोक्सले २२ रनमा एक र अनुरित सिंहले २० रनमा एक विकेट लिए। एजेन्सी