लन्डनको केन्द्रमा यसरी मनाइयो बुद्ध जयन्ती [भिडियो सहित]

शिब भण्डारी, लन्डन। २५६२ औं बुद्ध जयन्ती लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा मनाइएको छ ।

शनिबार साँझ विदेशीहरुकोसमेत उपस्थितिमा सयौं नेपाली समूदायले बुद्ध जयन्ती मनाए । साँझ ६ बजे देखि ९ बजेसम्म ट्राफलगर स्क्वायरमा सयौंको उपस्थितिमा बुद्ध जयन्ती मनाइएको हो । कार्यक्रममा विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन, प्रवचन, शुभकामना आदानप्रदान, विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमको प्रस्तुतिका साथै नेपालको पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम पनि गरिएका थिए ।उपस्थितलाई बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए ।

बेलायती सांसदहरु, बेलायतस्थित कुवेत, म्यानमार, लाओस लगायतका मुलुकका राजदूत, लण्डनस्थित केहि काउन्सिलका मेयर, काउन्सिलर लगायतका विशिष्ट व्यक्तित्वहरु कार्यक्रममा अतिथीका रुपमा सहभागी थिए । बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका प्रतिनिधीहरु कार्यक्रममा ऐक्यबद्धता जनाउंदै सहभागी भएका थिए ।

शान्तिको दूत गौतम बुद्धको शान्तिको सन्देश ,पर्यटन प्रबर्द्धन र बुद्धको जन्म स्थलको बारेमा विश्वमाझ फैलाउने उद्देश्यले लण्डनमा बुद्ध जयन्ती मनाइएको हो । फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठ अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतका लागि कुवेत, लाओस तथा म्यान्मारका राजदूतले पनि सम्बोधन गरेका थिए ।

पण्डित निलहरि घिमिरे र लामा गुरु धर्म गुरुङबाट धार्मिक मन्त्रोचारणसहित पूुजाबाट कार्यक्रम सुरु गरिएपछि नेपाल तथा बेलायतका राष्ट्रिय गानहरु बजाइएको थियो । त्यसअवसरमा स्वागत मन्तव्य राख्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भन्नेमा संयुक्त राष्ट्रसंघ समेत स्पष्ट रहिसकेको अवस्थामा यसबारेमा कुनै भ्रम वा आशंका राख्नुको औचित्य नरहने तर्क गरे । बुद्धको जमस्थल लुम्बिनीलाई विश्वमाझ शान्ति, सद्भाव , अहिंसा, सहिष्णुता र सहअस्तित्वको एक अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्नका लागि आवश्यक सहयोग र हौसलाका लागि डा सुवेदीले नेपालका मित्र राष्ट्रहरुलाई आग्रह पनि गरे ।

प्रमुख अतिथी बेलायती सांसद मिसेल डोनलान, सांसद सिमा मलहोत्रा, बेलायतका लागि म्यानमार, लाओ तथा कुवेतका राजदूतहरु, लण्डनको बार्नेट काउन्सिलका मेयर ब्रायन सालिंगर लगायतले शुभकमाना मन्तव्य दिएका थिए । भिक्षु सुमना, बुद्ध धर्म गुरु छेवाङ गुरुङ लगायतले कार्यक्रममा विशेष प्रवचन दिदै बौद्ध दर्शनका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथीहरुलाई बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधी पशुपति भण्डारी, एनआरएन आइसिसी सहकोषाध्यक्ष सोम सापकोटा लगायतले आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

 

गणेश खड्का र गौमाया गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए भने कार्यक्रमका संयोजक सुर्य गुरुङले संिक्षप्त मन्तव्य राख्दै कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा सिम्मी पुनको संयोजनमा विभिन्न गीत, नृत्यसहितका सांस्कृतिक कार्यक्रमहरु देखाइएको थियो । अहिंसाको सन्देश प्रवाह गर्ने एक नाटक समेत मञ्चन गरिएको थियो । गायक गंगा थापा, श्रेया राई लगायतले गीत प्रस्तुत गरेका थिए । मौलिक नेपाली संस्कृति झल्काउने कुमारी नाचको प्रस्तुति निकै आकर्षक थियो ।

बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेको आयोजना तथा लण्डनस्थित नेपाली दूतावास, एनआरएन यूके, नेपाल पर्यटन बोर्ड लगायतको सहकार्यमा आयोजित बुद्धजयन्ती कार्यक्रममा नेपाली तथा गैरनेपाली समुदायका सयौंको सहभागिता रह्यो  ।

हेर्नुहोस् भिडियो: