लण्डनमा नेपाली युवा कैनीले म्याराथुनबाट संकलन गरे २७ सय पाउण्ड

लण्डन । हाल युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनीले यस वर्षको लण्डन म्याराथुनमा सहभागी भएर झन्डै २७ सय पाउण्ड सहयोग संकलन गरेका छन् ।

म्याराथन सम्पन्न भएको दिन २२ अप्रिलसम्म सहयोगीहरुबाट कुल २ हजार ४ सय ४८ पाउण्ड र गिफ्ट एड सहित २७ सय ६७ पाउण्ड (करीव चार लाख रुपैयाँ) सहयोग जम्मा गरेका छन् ।

उनले उक्त म्याराथन ४ घण्टा ५९ मिनेटमा पुरा गरे । उनी युनिभर्सिटी कलेज लण्डन नेपाली विद्धार्थी समाजको अध्यक्ष पनि हुन् ।

उनले लण्डन म्याराथनमा भाग लिएर नेपालमा अपाङ्ग, निमुखा र असहाय बालबालिकाको लागि सहयोग गर्ने गैर सरकारी संस्था किड्स फर्स्ट नेपालको लागि उक्त सहयोग रकम जुटाएका हुन् । उक्त संस्थाले अपाङ्ग र असहाय बालबालिकाहरूको लागि शिक्षा, स्वास्थ्य र जीवन आर्जन गर्नको लागि आवस्यक सहयोग गर्दै आएको छ। उक्त दौडमा भाग लिएर उठेको सबै रकम उक्त संस्थालाई सिधै सहयोग जानेछ।

उनले उक्त म्याराथुनमा भाग लिएर च्यारिटीबाट तीन हजार पाउण्ड सहयोग उठाउने लक्ष्य राखेका थिए । उनको यो अभियानमा सहयोग गर्न चाहनेले अझै पनि तलको लिंकमा क्लिक गरेर २९ अप्रिलसम्म सहयोग गर्न सक्ने छन् ।

https://uk.virginmoneygiving.com/charity-web/charity/displayCharityCampaignPage.action?charityCampaignUrl=kfn-shahil

लण्डन म्याराथनमा उनको सहभागिताले अन्य नेपाली युवा र समुदायलाई पनि समाज सेवा गर्न र अन्य पुण्य काम गर्न प्रेरणा मिल्ने उनले बताए ।