एनआरएनए पोर्चुगलको यस्तो रहेछ ? नेपाल महोत्सव मनाउने तयारी

आरके थापा,लिस्बन- पोर्चुगल।

एनआरएनए पोर्चुगलको आयोजनामा नेपाल महोत्सव मनाउने तयारी तीब्र गरिएको  छ ।नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक नेपाल महोत्सव ( Nepal Festival-२०१८) हुने भएको हो । राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा संघले यहीे १५ अप्रिलमा नेपाल महोत्सव गर्न लागेको हो । प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली महोत्सव गर्न लागिएको संघका अध्यक्ष कुवेर कार्कीले जानकारी दिएका छन् ।यो पोर्चुगलको नेपाली समुदायको भब्य कार्यक्रम हुने र सोही अनुसार तयारी गरिएको छ, कार्कीले बिश्वास व्यक्त गरे ।

पर्यटन मन्त्रीलाई प्रमुख अतिथिको निम्तो-
– नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रबिन्द्र अधिकारीज्युलाइ महोत्सवको प्रमुख अतिथिकोरुपमा उपस्थितिका लागि हामीले निम्ता पठाइसकेका छौं, समय मिलेसम्म मन्त्रीज्यु आउनु हुने बिश्वास लिएका छौं,अध्यक्ष कार्कीले जानकारी दिए । नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाली पर्यटन दूत, नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि तथा पोर्चुगलमा क्रियाशील नेपाली संघ संस्थाको सहआयोजनामा नेपाली महोत्सव हुने भएको हो । महोत्सव गर्नका लागि यहाँको सरकारी निकायसँग स्वीकृति लिएर व्यापक तयारीमा लागिएको अध्यक्ष कार्कीले बताए ।
नेपाली महोत्सव हुने भएपछि यहाँका सरकारी निकायसमेत उत्साही भएका छन् । उनीहरुले महोत्सव सफल पार्न सबै खाले सहयोग गर्ने आश्वासनसमेत दिएका छन्– कार्कीले भने । महोत्सवले नेपाली पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ । महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोशाक, नेपाल झल्काउने तस्वीरलगायतका गरी १२ स्टल रहने संघले जनाएको छ । यस्तै, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथालगायत नेपालको पर्यटकीयस्थलका विषयमा जानकारी दिन र प्रचारप्रसार गर्नका लागि छुट्टै स्टल राखिने समेत अध्यक्ष कार्कीले जानकारी दिए ।
महोत्सवको तयारीका तीव्ररूपमा अगाडि बढेको छ । पोस्टर, पम्प्लेट, भिडियो क्लिप, गीत, फेसबुक प्रोफाइल फ्रेम, सोसियल मिडिया र अहिलेको आधुनिक प्रबिधिलाई भरपुर प्रयोग गरिरहेका छौं, अझै यसलाई व्यापक र तीब्र बनाइनेछ, संघका प्रबक्ता प्रभात पौडेलले भने । स्थानीय नेपाली मिडियाले पनि हामीलाई प्रचार प्रसारमा धेरै ठूलो सहयोग पुर्याइरहनु भएको छ । अब हामी यसलाई पोर्तुगिस मिडियामा पनि लैजाने तयारीमा छौं, प्रबक्ता पौडेलले योजना बताए ।
एक दिने मेलामा नेपालको बारेमा जानकारी दिने, नेपाली कला, लोक संस्कृति र नेपाली पर्यटनको प्रचारप्रसार र प्रवद्र्धन गर्ने तथा नेपाली वेषभूषासहितको सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ । यस्तै महोत्सवमा पोर्चुगलमा रहेका ख्याति प्राप्त नेपाली राष्ट्रिय कलाकारको विशेष सांस्कृतिक प्रस्तुति पनि रहनेछ ।