काठमाडौं– केपी ओली नेतृत्वको सरकारलाई जापानले विभिन्न क्षेत्रमा सहयो गर्ने भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि जापानी राजदूत ओगावा मासासिले सहयोगको क्षेत्रवारे जानकारी दिएका हुन् ।
भेटमा राजदूत मासासिले मन्त्री बस्नेतलाई जापान सरकारका तर्फबाट कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै वन तथा वातावरण संरक्षणका क्षेत्रमा थप सहकार्य गर्न जापान तयार रहेको प्रतिबद्धता जनाए ।
राजदूत मासासिले गत वर्ष सम्पन्न भएका विभिन्न निर्वाचनमा बाम गठबन्धनको विजय भएको र केन्द्र तथा सात प्रदेशमध्ये ६ वटा प्रदेशमा बाम गठबन्धनको बहुमतको सरकार बनेकाले नेपाल लामो राजनीतिक अस्थिरताबाट मुक्त भएकामा खुसी व्यक्त गरे ।
पछिल्लो १० वर्षमा नेपालमा १२ जना नेता प्रधानमन्त्री बनेको स्मरण गर्दै उनले आफ्नो चार वर्षे कार्यकालमा मात्र ६ जना प्रधानमन्त्रीसँग भेटघाट भएको बताए । ‘अब त्यो अवस्थाको अन्त्य भएको छ’, राजदूतले भने, ‘मेरो विचारमा यो सरकार लामो समय रहनेछ, अब नेपालले पहिलेजस्तो राजनीतिक अस्थिरता भोग्नुपर्दैन ।’
राजदूत मासासिले राजनीतिक अस्थिरता अन्त्यसँगै नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा प्रवेश गरेको र वर्तमान केपी ओली नेतृत्वको सरकारले अघि सारेको विकास र समृद्धिको योजनामा जापान सक्दो सहयोग गर्न तयार रहेको प्रतबिद्धता जनाए ।
राजदूत मासासिले चुरे संरक्षण र तराई मधेसमा वर्षा याममा हेरक वर्ष आउने बाढी÷पहिरोका कारण हुने गरेको धनजनको क्षति रोक्ने कार्यमा जापान सरकार सहयोगका लागि तयार रहेको बताए ।
यस्तै काठमाडौं उपत्यकामा दैनिक रुपमा उत्पादन हुने फोहोर मैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको चर्चा गर्दै उनले हाल जापानमा प्रयोग भइरहेको फोहोर जलाउने प्रविधि नेपालमा ल्याउन सुझाव दिए ।
जापानमा हाल प्रयोगमा रहेको उक्त प्रविधिमार्फत फोहोर जलाउँदा वातावरण प्रदूषणसमेत नहुने र उर्जा शक्तिसमेत उत्पादन हुने उनको भनाइ थियो । भेटमा राजदूत मासासिले मन्त्री बस्नेतलाई जापान भ्रमणको निम्ता पनि दिए ।
मन्त्री बस्नेतले जापानले वन तथा वातावरण संरक्षणसहित नेपालको विभिन्न क्षेत्रमा लामो समयदेखि स्वार्थरहित साझेदारका रुपमा सहयोग गर्दै आएकामा उच्च प्रशंसा गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरे ।
जनस्तरमा समेत जापान नेपालको असल मित्र भएको उल्लेख गर्दै विगतमा जापानले गर्दै आएको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
मन्त्री बस्नेतले नेपालको वन तथा वातावरण क्षेत्रको संरक्षण गर्नु नेपालको मात्र नभई विश्व वातावरण संरक्षणमा समेत योगदान पु¥याउनुपर्ने अन्तर्राष्ट्रिय दायित्वबारे नेपाल जानकार रहेको र त्यसमा काम गर्न प्रतिबद्ध रहेको जनाए ।
नेपाल लामो राजनीतिक अस्थिरताको दुस्चक्रबाट भर्खरैमत्र मुक्त भएको बताउँदै मन्त्री बस्नेतले राजनीतिक अस्थिरता अन्त्यसँगै अब मुलुकको एक सूत्रीय अभियान विकास र समृद्धिमार्फत जनता सुखी बनाउने रहेको स्पष्ट गरे ।
अब केही समयमै एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणको औपचारिक घोषणा हुने र केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारले बहुमतको सरकारको स्वरुप लिने चर्चा गर्दै मन्त्री बस्नेतले सरकारको अबको ध्यान शान्ति, स्थिरता र विकास भएको स्पष्ट गरे ।
मन्त्री बस्नेतले वर्तमान सरकार लोकतन्त्रका विश्वव्यापी मान्यताहरुलाई आत्मसात गर्दै विश्वसमुदाय समक्ष प्रतिबद्धता जनाए ।
मन्त्री बस्नेतले आफ्नो मन्त्रालयले युवाहरुको सक्रिय सहभागितामा वन÷वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने र वनलाई उद्यमशीलतासँग जोड्ने र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने नीतिका साथ सरकार अघि बढेको जनाए ।
चुरे संरक्षण नेपालको राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै बस्नेतले उक्त कार्यमा जापान सरकारको सहयोगको अपेक्षा गरे ।






