प्रचण्ड र बाबुरामविरुद्ध युवा संघ

एमालेको युवा संगठन युवा संघ नेपालले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता डा. बाबुराम भट्टराईलगायतका नेताहरुले लडाकू शिविरको रकममा गरेको ‘भ्रष्टाचार’मा अख्तियारले आँखा चिम्लिएको भन्दै त्यसविरुद्ध दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।
युवा संघले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा संघका महासचिव राजीव पहारीले लडाकू शिविरमा भएको भ्रष्टाचारविरुद्ध कारबाही गर्न माग राखेर अख्तियारमा उजुरी दिएपनि त्यसको सुनुवाइ नभएको बताए ।
महासचिव पहारीले दाहाल, भट्टराई र महासचिव कृष्णबहादुर महरालगायतका नेताहरुले लडाकूका लागि पठाइएको रकममा भ्रष्टाचार गरेको प्रमाणसहित उजुरी दिँदा पनि अख्तियारले छानबिन अघि नबढाएको आरोप लगाए ।
संघले उपाध्यक्ष दिलकुमारी पन्त, सचिवहरु अशोक चन्द, नरेश शाही, हस्त शाही, मन्जु यादवले संघको विधि र प्रक्रिया विपरित गतिविधि गरेको ठहर गर्दै उनीहरुलाई कारबाही गर्न स्थायी समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ । समाजमा व्याप्त महिला हिंसा, भ्रष्टाचार, घुसखोरीलगायतका घटनाविरुद्ध सशक्त अभियान सन्चालन गर्ने पनि संघले जनाएको छ ।