नेपालगन्ज- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको न्यायिक स्वतन्त्रतामा आँच ल्याउन कसैलाई पनि छुट नभएको बताएकी छिन् । नेपाल बार एसोसिएसनको १४ औँ सम्मेलनको उद्घाटन गर्दै उनले नागरिकले न्यायको अपेक्षा राख्ने अन्तिम स्थान न्यायालय नै स्वतन्त्र नहुँदा विधिको लोकतन्त्र नै खतरामा पर्ने बताइन् ।
उनले पछिल्लो समय सार्वजनिक घटनाक्रमले न्यायालयमा खराब संस्कृति मौलाउँदै गएको भन्दै न्यायालय नागरिकमुखी हुनु पर्नेमा जोड दिइन् । व्यक्तिगत लाभका लागि न्यायालयलाई प्रयोग गर्न नहुने भन्दै उनले न्यायपालिकामा उत्पन्न समस्यालाई सबै कानुन व्यवसायीहरू एकजुट हुँदै समाधान गर्न अनुरोध गरिन् ।
भण्डारीले भनिन्, ‘संविधानले स्वतन्त्र र सक्षम न्यायपालिकाको अवधारणालाई गहिरोसँग आत्मसाथ गरेको छ, कानुनको अन्तिम व्याख्याताका रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रतामा कहीँ कतैबाट पनि आँच पर्ने कार्य सैह्य हुँदैन ।’
भण्डारीले न्यायपालिका भित्र आएका र आउन सक्ने विकृति न्यायपालिका स्वयंले सुधार्नु पर्ने सुझाव समेत दिइन् । उनले पछिल्लो समय न्यायपालिकामा गम्भीर प्रकृतिका घटना भएको बताउँदै यस विषयमा बार सम्मेलनको गम्भीर ध्यानाकर्षण हुनु पर्ने भनार्इ राखिन् । न्यायपालिकाको शक्ति नै जनविश्वासमा अडेको धारणा उनको थियो ।






