शिक्षा मन्त्रालयले प्रदान गर्दै आएको विद्यालयस्तरको छात्रवृत्तिका लागि सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट विपन्न तथा जेहेन्दार रहेको भनी अनिवार्य प्रमाणित गराउनुपर्ने प्रावधान लागू गरेको छ । मन्त्रालयले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई सुलभ तरिकाले स्तरीय शिक्षा दिने उद्देश्यले सरकारले सुरु भएको सो छात्रवृत्ति कार्यक्रममा यस वर्षदेखि निजी (संस्थागत) विद्यालयका विद्यार्थीले पनि आवेदन दिन पाउने जनाएको छ ।
हरेक वर्ष कक्षा ५ का विद्यार्थीका लागि सञ्चालन हुने सो छात्रवृत्ति छनोट परीक्षाको जिम्मेवारी बूढानीलकण्ठ स्कुललाई दिइएको छ । यस वर्ष सो परीक्षा आगामी चैत ३० गते देशका विभिन्न स्थानमा हुँदैछ । मन्त्रालयका सहसचिव तथा बूढानीलकण्ठ स्कुल व्यवस्थापन समितिका अध्यक्ष डा लवदेव अवस्थीले विपन्न र जेहेन्दार विद्यार्थीका नाममा आएका छात्रवृत्ति हुनेखाने परिवारकै विद्यार्थीले प्राप्त गर्ने भएकाले यस वर्षदेखि सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट प्रमाणित नभएका विद्यार्थीको आवेदन स्वीकार्य नहुने बताउनुभयो ।
बूढानीलकण्ठ स्कुलसहित देशका छवटा शैक्षिक गुठीमार्फत वार्षिक ११५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान हुनेछ । सो स्कुलका ४० विद्यार्थीले छात्रवृत्ति सुविधा प्राप्त गर्नेछन् भने बाँकी विद्यार्थी अन्य विद्यालयमा सिफारिस गरिनेछ । प्रवेश परीक्षामा निश्चित शैक्षिक उपलब्धि हासिल गर्न सक्षम तर आर्थिक रूपले विपन्न जेहेन्दार छात्र–छात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय (मधेसी, मुस्लिम, दलित, जनजाति, बेपत्ता, घाइते र सहिद परिवार तथा दुर्गम क्षेत्र) बाट पनि प्रतिनिधित्व सुनिश्चित हुने गरी छात्रवृत्ति छनोट गरिनेछ ।
छनोट परीक्षा इलाम, धनकुटा, इटहरी (सुनसरी), लाहान (सिरहा), सल्लेरी (सोलुखुम्बु), जनकपुर, सिन्धुलीमाडी (सिन्धुली), चन्द्रनिगाहपुर (रौतहट), भरतपुर (चितवन), धुलिखेल (काभे्रपलाञ्चोक), बूढानीलकण्ठ स्कुल (काठमाडौँ), चामे (मनाङ), पोखरा (कास्की), तानसेन (पाल्पा), बाग्लुङ, तौलिहवा (कपिलवस्तु), घोराही (दाङ), नेपालगन्ज (बाँके), वीरेन्द्रनगर (सुर्खेत), अत्तरिया (कैलाली), साँफेबगर (अछाम), पाटन (बैतडी), दार्चुला र जुम्लामा सञ्चालन हुनेछ ।
छात्रवृत्तिका लागि विपन्न र जेहेन्दार प्रमाणित अनिवार्य






