सरकार विस्तार गर्दै प्रधानमन्त्री, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

एमाले र माओवादी केन्द्र दुवै दलका तर्फबाट मन्त्री हुनेको टुंगो सोमबार बिहानसम्म लगाएर दिउँसो शपथ गराउने योजना छ ।

मन्त्रीका आकांक्षी धेरै भएपछि दुवै दलका अध्यक्षलाई नाम छनोट गर्न समस्या परेको हो । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार पनि मन्त्री छनोट र मन्त्रालयबारे छलफल भएको थियो ।

सरकारले प्रधानमन्त्री कार्यालयसहित १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गरेको छ । भागबन्डाअनुसार एमालेले प्रधानमन्त्रीबाहेक १० र माओवादीले ७ मन्त्रालय लिने तयारी छ । संघीय समाजवादी फोरमलाई पनि सरकारमा सामेल गराउने प्रयास जारी छ । फोरम सरकारमा सामेल भए दुई दलकै कोटाबाट मिलाएर मन्त्रालय दिइने एक नेताले बताए ।

एमालेले अर्थ, रक्षा, परराष्ट्र, भौतिक योजना, सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्यालगायतका मन्त्रालय लिने तयारीमा छ । त्यस्तै माओवादीले गृह, जलस्रोत तथा ऊर्जा, वन तथा वातावरणलगायतका मन्त्रालय लिने सम्भावना छ ।

फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा आउँदा उनले परराष्ट्र मन्त्रालय लिने सम्भावना छ ।

वाम गठबन्धनको समर्थनमा यही फागुन ३ गते ओली प्रधानमन्त्री बनेका थिए । दुई दलबीच पदीय भागबन्डा र मन्त्रालय संख्या निर्धारणमा ढिलाइ भएकाले प्रधानमन्त्री नियुक्त भएको १० दिनसम्म पनि सरकार विस्तार हुन सकेको छैन ।

एमालेबाट ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, विष्णु पौडेल, योगेश भट्टराई, रविन्द्र अधिकारी, भानुभक्त ढकाल, गोकुल बास्कोटा, पद्मा अर्याललगायत मन्त्री बन्ने तयारी छन् । माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भूसाल, देवेन्द्र पौडे, जयपुरी घर्ती मन्त्री बन्दैछन् ।