८ फागुन, काठमाडौं । जनता दल युनाइटेडका नेता नितिश कुमार फेरि बिहारको मुख्यमन्त्री बन्ने भएका छन् । उनले २२ फेब्रुअरीमा सपथ लिनेछन् ।
कार्यबाहक राज्यपाल केसरीनाथ त्रिपाठीसँगको भेटपछि नितिशले २२ फेब्रअरीको साँझ ५ बजे सपथ लिने तय भएको जानकारी दिएका हुन् । राज्यपालले उनलाई मार्च १६ सम्म विधानसभामा आफ्नो बहुमत देखाउन भनेका छन् ।
बिहारका मुख्यमन्त्री जीतनराम माझीले शुक्रबार विधानसभामा आफ्नो बहुमत सावित गर्नु पर्ने थियो । तर, उनले त्यसअघि नै राज्यपाल समक्ष राजीनामा दिए । उनको राजीनामा स्वीकृत भएको छ ।
यसअघि जनता दल युनाइटेडले माझीलाई मुख्यमन्त्री पदबाट राजीनामा दिन भनेको थियो । तर, उनले अस्वीकार गरेपछि बिहारको राजनीतिमा उचार चढाव सुरु भएको थियो । लगतै जनता दल युनाइटेडले माझीलाई पार्टीबाट निस्कासन गर्नुका साथै नितिशकुमारलाई विधान मण्डल दलको नेता चयन गरेको थियो ।
राष्ट्रिय जनता दल, कांग्रेस, भारतीय कम्युनिष्ट पार्टी र एक निर्दलीय विधायकले नितिशकुमारलाई समर्थन गर्ने घोषणा गरिसकेको छन् ।
नितिश कुमारले भने यसअघि नैतिक आधारमा मुख्यमन्त्रीबाट राजीनामा दिनु गल्ती भएको भन्दै बिहारका जनतासँग माफी मागेका थिए । तर, अब उनले चौथो पटक मुख्यमन्त्री बन्ने बाटोमा छन् ।







