मलाई ज्यानको खतरा छ : प्रचण्ड

८ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई ज्यानको खतरा रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय प्राध्यापक संघ र नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठनले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा प्रचण्डले भने- ‘ममाथि ज्यानकै खतरा छ, प्रतिगामी क्वार्टरबाट मलाई सिध्याउने तानाबाना बुनिएको जानकारी आज बिहान मात्रै पाएको छु ।’

राम्रो गर्न खोज्दा वीपी कोइरालालाई जेल हाल्नेदेखि निर्वासनमा पठाउनेसम्म गरेको भन्दै प्रचण्डले मदन भण्डारीलाई पनि राम्रो गर्न खोज्दा दुर्घटनामा पारेर मारिएको बताए ।

प्रचण्डले भने-‘गिरिजा र म हुँदा धेरै कुरा मिल्यो, उहाँको निधनपछि मलाई सिध्याउने तानाबाना बुनिएको छ, शक्ति केन्द्रहरुमा प्रचण्डलाई भौतिकरुपमा नसिध्याई हुँदैन भनेर छलफल चल्यो भनेर एकजनाले मलाई सुनाए ।’

एमाओवादी अध्यक्ष प्रचण्डले बहुमतको तरबार म्यानमा नराखेसम्म संविधानसभामा नफर्कने बताए । उनले भने-‘उनीहरु -कांग्रेस-एमाले) ले बहुमतको तरबार निकालेर हानी हाले, हामी मर्ने डरले भाग्यौं । हामीलाई फर्काउने हो भने तरबार म्यानभित्र राख्नुस् ।’

विद्वान र व्यापारीको कथा

कार्यक्रममा प्रचण्डले असल र खराब पार्टी चिनेर अघि बढ्न आग्रह गर्दै विद्वान र व्यापारीको कथासमेत सुनाएका छन् । उनले भने-‘विद्वानले धेरै पढेर सही र गलत छुट्याउँछ, व्यापारीले उधारो सामान किनेपछि कति दिनमा फिर्ता दिन्छ भन्ने आधारबाट ग्राहक चिन्छ, त्यसैगरी तपाईंहरुले पनि असल र खराब छुट्याइदिनुपर्‍यो ।’

आफूहरु अहिले कमजोर भएको स्वीकार गर्दै प्रचण्डले जनताबाट शक्ति लिएर संविधानसभामा जाने बताए । उनले आफूहरु अझैं पनि सहमतिबाटै संविधान जारी गर्ने अधिकतम प्रयासमा रहेको बताएका छन् ।

उनले शुक्रबार क्षेत्रपाटीमा नेवाः राज्यस्तरीय कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै कांग्रेस-एमाले सहमतिमा नआए संविधानसभा उपाध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा छुट्टै संविधानसभा चलाउने र नयाँ संविधान जारी गर्ने बताए ।

फागुन १६ गतेको जनप्रदर्शन निर्णायक हुने भन्दै प्रचण्डले त्यसैबाट अबको राजनीतिक कोर्ष पहिल्याउने दाबीसमेत गरे । ‘छुट्टै संविधानसभा चलाएर जनताको संविधान कस्तो हुन्छ हामी देखाइदिन्छौं’ प्रचण्डले भने-‘१६ गतेको जनसभामा तपाईंहरु जुरुक्कै उठेर आउनुपर्‍यो र माओवादीको पक्षमा राजनीतिक कोर्ष ल्याउनुपर्‍यो ।’फागुन १६ पछि पनि कांग्रेस र एमाले सहमतिमा नआए छुट्टै प्रदेशसभा घोषणा गर्ने उनले दोहोर्‍याए ।