ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई वाम गठबन्धनको आग्रह

????????????????????????????????????

काठमाडौं- वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न आग्रह सहितको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

प्रतिनिधिसभामा सवैभन्दा ठुलो दल रहेको एमालेका अध्यक्ष ओलीलाई बहुमत सदस्यको समर्थन रहेको जानकारी सहितको पत्र गठबन्धन आवद्ध दलका नेताले शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेर भण्डारीलाई बुझाएका हुन् ।

अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, पत्र बोकेर अध्यक्ष ओली सहित एमाले नेताहरु माधवकुमार नेपाल, इश्वर पोखरेल, सुवास नेम्बाङ, बिष्णु पौडेल र अग्नी खरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ शीतल निवास पुग्नु भएको थियो । शीतल निवास स्रोतकाअनुसार, राष्ट्रपति भण्डारीले आजै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ ।

प्रतिनिधिसभामा एमालेको १ सय २१ र माओवादी केन्द्रको ५३ गरी १ सय ७४ सिट छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ ।

प्रतिनिधिसभामा वाम गठबन्धन दुई तिहाई नजिक छ । बुहमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ । गठबन्धनमा राष्ट्रिय जनमोर्चासहितका केही दल सहभागी भएपनि एमाले र माओवादी केन्द्रमात्र सरकारमा सहभागी हुनेछन् ।