राष्ट्रिय सभामा को–को भए निर्विरोध ?

काठमाडौं, माघ १५ । २०७४ माघ २४ गते बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।

निर्वाचन चिह्न पाएसँगै उम्मेदवारहरूबाट निर्वाचन प्रचारप्रसार सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार, आज दिनको २ बजेसम्म उम्मेदवारहरूलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरिएकोमा सातवटै प्रदेशमा गरी अब ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी, निर्वाचन अधिकृतहरुको कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार, कुल ५६ पदका लागि हुन लागेको निर्वाचनमा २४ जना उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निविरोध निर्वाचित हुनुभएको छ भने अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पद गरी जम्मा २ पदका लागि बढी मतीय आधारम निर्वाचन हुने भएको छ । प्रदेश नम्बर २ मा ८ वटै पदका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश नम्बर ३ मा ८ वटै पदमा मतदान हुने छ भने प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पदमा उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएकाले अन्य पदमा निर्वाचन हुने छ ।

प्राप्त विवरण अनुसार, प्रदेश नम्बर ५ मा महिला ३ पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसक्नु भएकाले अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा ५ पदमा निर्वाचन हुने भएको छ । त्यस्तै, प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ पदमा उम्मेदवारहरू निर्विरोध भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा २ पदमा निर्वाचन हुने भएको छ ।