दोलखा- प्रतिनिधि सभाको एकमात्र सिट रहेको दोलखामा अहिलेसम्मकै फराकिलो मतान्तरले एमालको उम्मेदवार पार्वत गुरुङ विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सार्वजनिक गरेको मतपरिणाम अनुसार एमाले उम्मेदवार गुरुङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार रुद्रबहादुर खड्कासँग ३० हजार ६ सय ४४ मत अन्तरले विजयी भएका छन् । विजयी गुरुङले ५५ हजार ४ सय ५७ मत र खड्काले २४ हजार ८ सय १३ मत प्राप्त गरेका छन् । दोलखामा प्रतिनिधिसभातर्फ ८७ हजार ३ सय १५ मत खसेको थियो ।
प्रदेससभातर्फ क्षेत्र नम्बर २ का एमाले उम्मेदवार पशुपति चौलागाँईले २३ हजार ५८ मत ल्याएर विजयी भएका छन् । ३ नम्बर प्रदेशका मुख्यमन्त्रीका प्रत्यासी चौलागाँईका प्रतिद्वन्द्वी काङ्ग्रेस उम्मेदवार केशवराज चौलागाँईले १० हजार ८ सय ८० मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ४१ हजार ८ सय ८९ मत खसेको थियो ।
त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ का वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विशाल खड्का २८ हजार ३ सय ५० मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार बर्मा लामाले १२ हजार ९ सय ५६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ४५ हजार २ सय ३४ मत खसेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रतिनिधिसभामा ४ हजार ८ सय ७७ र प्रदेशसभातर्फ ४ हजार ७ सय ८ गरी ९ हजार ५ सय ८५ मत बदर भएको छ । यो खसेको कुल मतको ५ दशमलव ४९ प्रतिशत हो ।






