एकै परिवारका ३ जनाको कंकाल भेटियो

एक वर्ष अगाडि सप्तरीको जडौल गाविसबाट बेपत्ता भएका एकै परिवार तीनजाका सदस्यको कंकाल सुनसरीको इनरुवामा भेटिएको छ । २०७० सालको पौषमा हराएका ५० वर्षीय इद्रिस नट मियाँ, उनकी ४५ वर्षीया श्रीमती जैतुन खातुन मियाँ र १७ वर्षीया छोरी सेरुन खातुन मियाँको कंकाल इनरुवा–७ स्थित सियाराम यादवको घरबाट प्रहरीले उत्खनन गरी फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्जय शर्माका अनुसार एक वर्ष अगाडि इद्रिसका छोरी–ज्वाइँ सप्तरी वकडौवाका सकिल अन्सारीले ससुरासँग भएको ५ कट्ठा जग्गाको विवादमा सासु जैतुन, ससुरा इद्रिस र श्रीमती सेरुनको हत्या गरी शव गाडेको अनुसन्धानमा खुल्न आएको छ ।
प्रहरीले अनुसन्धान गरी सकिल अन्सारीले भाडामा बसेको यादवको घरको पछाडिपट्टिको भागमा उत्खनन गरी शुक्रबार र शनिबार दुई दिन लगाएर कंकाल निकालेको हो । उत्खनन गरी भेटिएको कंकाल परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान लगिएको छ ।
हत्याका मुख्य योजनाकार सकिल अन्सारीको पनि खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ । सुनसरी इनरुवाका सियाराम यादवको घरमा डेरा गरी बस्दै आएका सकिलले जग्गासम्बन्धी विवाद भएपछि श्रीमतीसहित सासु र ससुराको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।