पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीहरुको बहुमतको सरकार बनेपछि केरुङ–काठमाडौं–पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग पुर्याउने कामलाई अगाडि बढाइने बताएका छन् ।
दुई पार्टीबीचको चुनावी तालमेलले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने र नेपाली कांग्रेस नेतृत्वको सरकार हटेर पुस महिनादेखि वामपन्थीहरुको बहुमतको सरकार बन्ने दाबी अध्यक्ष ओलीले गरे ।
उनले भने–‘म आफू प्रधानमन्त्री हुँदा बूढाबूढीको वृद्धभत्ता रु एक हजारबाट बढाएर रु दुई हजार बनाइदिएको थिएँ अब रु दुई हजारबाट बढेर वृद्धभत्ता रु पाँच/पाँच हजार पुर्याइन्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सरकारले संविधान कार्यान्वयनमा विशेष महत्व राख्ने बताउँदै संविधान कार्यान्वयनपछि देशमा तीव्रगतिमा विकास र निर्माणका कार्य अघि बढ्ने धारणा राखे ।






