नयाँदिल्लीको मुख्यमन्त्रीमा निर्वाचित आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आज सपथ ग्रहण गर्दै हुनुहुन्छ । उहाँले ६ मन्त्रीसहित रामलीला मैदानमा सर्बसाधारण जनतासामु पद तथा गोपनियताको सपथ ग्रहण गर्न लाग्नु भएको हो । केजरीवालको सपथसँगै आजदेखि दिल्लीमा राष्ट्रपति शासन अन्त्य हुने छ । समाचार एजेन्सी पीटीआईका अनुसार केजरीवालले मुख्यमन्त्री पदसँगै गृह, उर्जा र वित्त विभाग आफूसँगै राख्नु हुने छ । सपथ ग्रहण समारोहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि मुख्यमन्त्री हुँदा सार्बजनिक सवारी साधन चढेर सपथ लिन रामलीला मैदान पुग्नुभएका केजरीवाल यसपाली भने कार चढेर जाने भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । दिल्ली विधानसभाको ७० सिटमध्ये ६७ सिटमा विजयी भएपछि केजरीवाल दोस्रोपटक मुख्यमन्त्रीको पदमा पुग्नु भएको हो । आजभन्दा ठीक एक बर्ष अगाडि १४ फेब्रुअरीकै दिन केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । लोकपाल विधेयक पारित गर्ने प्रयास विपक्षी दलको कारण सफल नभएपछि उहाँले ४९ दिन मुख्यमन्त्री बनेर पद त्याग्नु भएको थियो । केजरीवाल दिल्लीको आठौं मुख्यमन्त्री हुनुहुन्छ ।
केजरीवालद्वारा मुख्यमन्त्रीको सपथ






