यौन शोषण गरेको आरोपमा ‘धर्मगुरु’ पक्राउ

काठमाडौं-धार्मिक आवरणमा महिलाहरुलाई यौन शोषण गरेको आरोपमा ‘धर्मगुरु’ टुल्कु लामा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ गरेको हो ।

आफूलाई अवतारी लामा भएको घोषणा गर्ने टुल्कुको धार्मिक नाम रिम्पोछे छुल्ठिम दोर्जे योञ्जन हो । सिन्धुली कुशेश्वर दुम्जा-९ का ५६ वर्षीय लामालाई मंगलबार पक्राउ गरेपनि प्रहरीले आज (बिहीबार) सार्वजनिक गरेको हो । उनले जुनसुकै रोग पनि निको पार्न सक्ने आफूसँग दैवी शक्ति रहेको भ्रममा पारी लामो समयदेखि उपचारमा आउने महिलामाथि यौनशोषण गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका लामामाथि जिल्ला अदालत काठमाडौंबाट जबर्जस्ती करणी तथा विद्युतीय कारोबार ऐेनअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।