लन्डन । हांस्यकलाकार जितु नेपाल (मुन्द्रे) का साथ नेपाल आइडल टप टेनहरु बुधवार लण्डन उत्रिएका छन् । कार्यक्रमका लागि सुरज थापा, केन्जलमेहर श्रेष्ठ, गायिका तृष्णा गुरुङ र जितु नेपाल ‘मुन्द्रे’ लन्डन आइपुगेका हुन् ।
उनीहरुलाई स्वागत गर्न आयोजकमध्येका इन्द्र घोताने,चित्र थापा (लाटो मगर),मनोज गुरुङ, निरा पीजी मगर, हेम गुरूङ विमानस्थल पुगेका थिए ।
इलिट इन्टरटेनमेन्ट यूके नेपालले बेलायतमा चर्चित हांस्यकलाकार जितु नेपाल (मुन्द्रे) का साथ नेपाल आइडल उत्कृष्ट प्रतिभाहरु सम्मिलित सांगीतिक कार्यक्रम गर्ने भएको हो।
पहिलो फ्रेन्चाइज रियालिटी शो नेपाल आइडलका प्रतिष्पर्धीमध्ये टप ६ सुरज थापा, टप ८ केन्जल मेहर श्रेष्ठ तथा कलाकार मुन्द्रे एवं गायक गायिका पवन रानामगर र तृष्णा गुरुङको सहभागितामा अल्डरसट, फोकस्टन र ग्रीनफोर्ड लन्डनमा कार्यक्रम हुन लागेको इलिटका इन्द्र घोतानेले जानकारी दिए ।
आगामी १० नोभेम्बर शुक्रबार फोकस्टन केन्टको हकिन्ज कम्युनिटी सेन्टर, ११ नोभेम्बरका दिन शनिबार ग्रीनफोर्ड टाउन हल लन्डन र १२ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम हुने आयोजकले बताएका छन् ।
आयोजकले कार्यक्रममा आएर भरपुर मनोरन्जन लिन तथा कलाकारहरुलाई हौसला प्रदान गर्न आग्रह गरेका छन् ।






