सीमा व्यवस्थापनसम्बन्धी बैठक सम्पन्न

नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको एघारौँ बैठक आज पोखरामा सम्पन्न भएको छ । उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृहमन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालले गर्नुभएको थियो भने भारतीय पक्षको नेतृत्व भारतको गृह मन्त्रालयमा सीमा व्यवस्थापन हेर्ने सहसचिव हितेशकुमार एस मकवानाले गर्नुभएको थियो ।
उक्त बैठकले सन् २०१३ को जनवरीमा नयाँ दिल्लीमा सम्पन्न सीमा व्यवस्थापनसम्बन्धी दशौँ बैठकमा भएको सहमतिको प्रगतिको समीक्षा गर्दै सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी र डिस्ट्रिक्ट म्याजिस्ट्रेटको बीचमा हरेक चार-चार महिनामा आयोजना हुने सीमवर्ती जिल्ला समन्वय बैठकबाट भएको उपलब्धि र सोको प्रभावकारीताप्रति सन्तोष व्यक्त ग¥यो । यस प्रकारका बैठक नियमितरुपमा अयोजना गर्ने विषयमा दुबै पक्षबीच सहमति पनि भएको छ ।
सीमावर्ती क्षेत्रमा हुने मानव बेचबिखन, लागुऔषधको अवैध कारोबार, हातहतियारको ओसारपसार र आतङ्कवाद जस्ता आपराधिक क्रियाकलापहरु नियन्त्रण गर्न द्विपक्षीय सुरक्षा सहयोगलाई थप अभिवृद्धि गर्ने विषयमा बैठकमा छलफल भएको थियो । यस अतिरिक्त दुई देशका सीमा व्यवस्थापनसम्बन्धी अधिकारीले स्थानीय तहमा देखिएका मानव बेचबिखन (खासगरी महिला तथा बालबालिकाको बेचबिखन), भारतीय इलाकामा अवैधरुपमा आश्रय लिएका सशस्त्र समूहबाट सञ्चालित अवाञ्छित क्रियाकलाप, नक्कली मुद्राको कारोबार, बालबालिकालाई सर्कसजस्ता काममा लगाई त्यसबाट उत्पन्न समस्या, सीमास्तम्भको व्यवस्थापन, धार्मिक अतिवादी समूहको क्रियाकलापलगायत विविध विषयमा छलफल भएको थियो ।
भारततर्फको सीमा क्षेत्रमा निर्माण गरिएका बाटो एवम् अन्य संरचनाले गर्दा नेपाली भू–भाग डुबानमा परी हजारौँ नेपाली बासिन्दा विस्थापित हुनुपर्ने स्थिति देखिएको विषयमा नेपाली पक्षले गम्भीर ध्यानाकर्षण गराएकामा भारतीय पक्ष यस समस्यालाई सम्बन्धित निकायमा प्रस्तुत गरी आवश्यक अध्ययनपछि संयुक्त रुपमा सहमति खोज्न सहमत भएको थियो ।
यसैगरी, भारतीय सेनामा भर्ती भई निवृत्तिभरण पाउने नेपाली र तिनका परिवारको निवृत्तिभरण पट्टा र नेपाली नागरिकतामा भएको नाम, थर, जन्ममितिको फरकले गर्दा उनीहरुले दुःख पाएको विषयमा जानकारी गराउँदै यस्तो फरक सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गरेको प्रमाणीकरणको आधारमा निवृत्तिभरण कार्यलाई सुचारु गराउन भारतीय पक्षलाई नेपाली पक्षले अनुरोध गरेको छ ।
साथै, नेपाली पक्षले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भन्सारका कर्मचारीबाट नेपाली नागरिकलाई हैरानी दिने गरिएको जानकारी भारतीय पक्षलाई गराएको थियो भने भारतीय पक्षले सो विषयमा यसअघि नै एसएसबीलाई निर्देशन दिइसकेको र आगामी दिनमा त्यस्ता घटना भएको पाइएमा भारतीय दूतावासमा जानकारी गराउन आग्रह गरेको थियो ।
नेपाली सुरक्षाकर्मीले ठूलो मात्रामा नक्कली भारतीय रुपैयाँ जफत गर्न सफल भएकामा सन्तुष्टि व्यक्त गर्दै भारतीय पक्षले नेपालले देखाएको यस प्रकारको सक्रियताको प्रशंसा गरेको थियो ।
यस प्रकारका कार्यलाई अझ सशक्तरुपमा अगाडि बढाउन, जफत गरिएका भारतीय नोटको नमूना भारतीय पक्षलाई उपलब्ध गराउन, यस कार्यमा संलग्न व्यक्तिका बारेमा सम्बद्ध भारतीय अधिकारीलाई जानकारी गराउन र भारतीय अधिकारीहरुसँग अझ बढी समन्वय गरी अगाडि बढ्न भारतीय पक्षले आग्रह गरेको थियो । साथै, अवैध सीम कार्डको प्रयोगबाट आपराधिक गतिविधिहरु हुने गरेकाले सीमा कार्ड वितरणलाई व्यवस्थित गर्न दुवैपक्ष सहमत भएको गृह मन्त्रालयका प्रवक्ता तथा वार्ता टोलीका नेता ढकालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।