कपिलवस्तु- कपिलवस्तुका बाम गठबन्धनका उम्मेदवारले आफना विकासका एजेण्डा र पार्टीको घोषणापत्रबारे जानकारी दिएका छन् । उनीहरुले १० वर्षभित्र देशको मुहार फेर्ने दाबी गरेका हुन् ।
प्रेस चौतारी र प्रेस सेन्टर कपिलवस्तुले संयुक्त रुपमा तौलिहवामा गरेको पत्रकार सम्मेलनमा कपिलवस्तुका वाम गठबन्धनका उम्मेदवारले आर्थिक समृद्धि र विकासका एजेण्डालाई चुनावी नारा बनाएका छन् । उनीहरूले कांग्रेसले अबको पाँच वर्ष चुप लागेर बस्नुपर्ने बताउँदै वाम गठबन्धनले १० वर्षमा मुलुक बनाउने जिकिर गरे ।
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ ले नेपाली कांग्रेसले ५ वर्ष प्रतिपक्षमा रहेर हेर्न आग्रह गरे । उनले अर्को १० वर्ष नयाँ नेपाल कसरी बन्छ सिक्नुपर्ने बताउँदै धैर्यतापूर्वक राजनीती गर्न आग्रह गरे ।
वामपन्थी सरकार बनेमा लोकतन्त्र संकटमा पर्छ भनेर जनतालाई भ्रम छरेको बताउँदै कांग्रेसको नामबाट सत्ताको दुरुपयोग गर्दै खनालले वर्षौँसम्म भ्रष्टचारीलाई संस्थागत गरेकाहरु यतिबेला छटपटाएको तर्क गरे । उनले कपिलवस्तुको विकास र सम्मुनतिका लागि ३३ वटा मुद्दाको सम्बोधन हुनुपर्ने प्रष्ट्याए ।
यसैगरी चुनाव चिन्ह सूर्यबाट कपिलबस्तु क्षेत्र नम्बर २ बाट उमेदवारी दिनुभएका केन्द्रीय नेता तथा पूर्व कानुन तथा न्यायमन्त्री वृजेश कुमार गुप्ताले वाम गठबन्धन परिवर्तनकारी भएकाले मूलुक र मधेशको हितका लागी स्वतन्त्र समुह गठबन्धनमा सामेल भएको बताए । राजपाका नेताले २ नम्बर प्रदेशलाई मात्रै मधेश ठानेकाले यसबाट विद्रोह गरेको तर्क गर्दै ६ वटा प्रदेश र केन्द्रमा वाम सरकार बन्ने ठोकुवा गरे ।
स्वतन्त्र समुहबाट क्षेत्र नम्बर ३ को उमेदवार बन्नु भएका नेता तथा पूर्व राज्यमन्त्री ईश्वरदयाल मिश्राले मधेशका माग पुरा गर्ने आश्वासन एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएकाले आफुहरु वामगठबन्धनमा सामेल भएको बताउदै जे बोल्यो त्यो पुर्याउने नेता ओली रहेको दाबी गरे ।
कार्यक्रममा कपिलवस्तुका प्रतिनिधि सभा तर्फका ३ र प्रदेश तर्फका ६ जना उम्मेदारहरुले बुद्धसँग सम्बन्धित १ सय बढी ऐतिहासिक तथा धार्मिकस्थलहरुको संरक्षण र विकासमा जोड दिएर आर्थिक तथा पर्यटन विकासका जोड दिने बताएका छन् ।






