रञ्जु दर्शना भन्छिन्- ‘एमालेमा प्रवेश गर्ने कुरा केबल हल्ला मात्रै’

काठमाडौँ- विवेकशील-साझा पार्टीकी नेतृ रञ्जु दर्शना न्यौपानेले आफू एमालेमा जाने भनेर प्रकाशित भएका समाचार हल्ला र अफवाह मात्रै भएको बताएकी छन् ।

विवेकशील-साझाका अर्का नेता उज्वल थापासहित रञ्जु एमालेमा जान लागेको समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएपछि उनले त्यसबारे कडा प्रतिक्रिया दिँदै मुद्दा हाल्ने चेतावनी दिएकी हुन् ।

आफुहरु राष्ट्रिय पार्टी बनाउने अभियानमा लागेका बेला केही सञ्चारमाध्यम पार्टीकै बदनाम गराउन सक्रिय भएको भन्दै आक्रोश पोखेकी हुन् । ‘हामी राष्ट्रिय पार्टी बनाउने अभियानमा छौँ,’ फेसबुकमा प्रतिक्रिया दिँदै उनले भनेकी छन्, ‘यो बेला कसैले रञ्जु लगायत पार्टी छाडेर जाँदै’ भनेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

शुक्रबारदेखि केही अनलाइन सञ्चारमाध्यममा विवेकशील साझा पार्टीका नेताद्वय उज्वल थापा र नेतृ रञ्जु दर्शना न्यौपानेले एमालेमा प्रवेश गर्न लागेको भन्दै समाचार प्रकाशित गरेका थिए ।

त्यो समाचार सरासर झुठो रहेको बताउँदै उनले ती सञ्चारमाध्यमविरुद्ध मुद्धा हाल्ने चेतावनि दिएकी छन् । ‘केही अनलाइनले हुँदै नभएको, जनतामा भ्रम फैलाउने खालका समाचार सम्प्रेषण गरेको थाहा पाएँ’, उनले अगाडि भनेकी छन्, ‘अब साइबर क्राइम अन्तर्गत मुद्धा दायरका लागि कदम चाल्नेछु ।’