चितवन- सत्तारूढ दल राप्रपा प्रजातान्त्रिक चितवनका अध्यक्ष बद्री तिमल्सीना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार चितवनको माडीमा आयोजित एक कार्यक्रमबाट उनी माओवादीमा प्रवेश गरेका हुन् ।
उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबिर र माला लगाएर स्वागत गरे । उनीसँगै राप्रपा प्रजातान्त्रिक का ३१ जना नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
द्वन्द्वकै समयमा ३८ जनाको ज्यान जाने गरी माओवादी कार्यकर्ताबाट गाडीमा गरिएको बम विस्फोटपछि सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रचण्ड दोस्रोपटक माडी पुगेका हुन् ।
तिमिल्सिनाको टोली माओवादीमा प्रवेश गरेपछि चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिक नेता विक्रम पाण्डे अफ्ठेरोमा परेका छन् ।
उम्मेदवारी दर्ता गराउँदा पनि तिमिल्सिना लोकतान्त्रिक गठबन्धनको जुलुसको अगुवाई गर्दै हिँडेका थिए । तिमिल्सिना यसअघि कमल थापा नेतृत्वको राप्रपा नेपालका जिल्ला अध्यक्ष थिए । उनी भरतपुर महानगरपालिकामा राप्रपाको तर्फबाट मेयरका उम्मेदवारसमेत भएका थिए ।






