नुवाकोट– आगामी मंसिर १० गते हुन लागेको निर्वाचनका लागि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका युवा नेता रमेश कुमार महतको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।
सरकारी नियुक्ति लिएका व्यक्तिले उम्मेदवारी दिएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै विदुरस्थित १ नम्बर निर्वाचन अधिकृतको कार्यालयमा एमालेका उम्मेदवार वद्री मैनालीका प्रतिनिधि ज्ञानवहादुर तामाङले उजुरी हालेका हुन् ।
उनको नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ (ख) को लागि कांग्रेसबाट उम्मेदवारी परेको छ ।
राजनीतिक नियुक्ति र सरकारी सुविधा लिइरहेका कारण उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको निर्वाचन अधिकृत गोपाल लामिछानेले बताए ।
महत कांग्रेस प्रभावशाली नेता डा रामशरण महतका भजित हुन् भने उनी कृषि विकास वैंक सञ्चालक समितिका सदस्य हुन् । उनले आफ्नो फेसबुकमा नै कृषि विकास बैंकमा कार्यरत रहेको उल्लेख गरेका छन् ।
दावी उजुरी र वचाउका लागि मंगलवार दुवै पक्षलाई कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थित हुन निर्देशन दिइएको बताइएको छ ।
नुवाकोटमा महतका साथै अर्जुन नरसिंह केसीले आफ्ना भाइ भतिजालाई प्रदेशसभामा उठाएको भन्दै तीब्र कांग्रेसभित्रै पनि तीब्र असन्तुष्टि रहेको बताइएको छ ।
त्यही असन्तुष्टिले प्रदेशसभामा उठेका अर्जुन नरसिंहका भाइ जगदीश्वर नरसिंह केसी विरुद्ध बागी उम्मेदवारी समेत परेको छ ।






