काठमाडौं– राप्रपाले पार्टीबाट सरकारमा सहभागि हुनेहरुको सूचि पठाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा शुक्रबार पत्र पठाए । तर, राष्ट्रपति कार्यालयले निर्वाचन आचारसंहितालाई देखाउँदै सपथ ग्रहणको कार्यक्रम राख्न अस्विकार गरिदियो ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले शुक्रबार नै राप्रपाका मन्त्रीहरुको सपथको कार्यक्रम तय गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र प्रेषित गरेको भएपनि आचारसंहितको कारण देखाउँदै सपथको कार्यक्रम तय नगरिएको हो ।
देउवाले शुक्रबार बिहान राप्रपा अध्यक्ष कमल थापालाई टेलिफोन गरी सपथका लागि तयारी अवस्थामा बस्न भनेका थिए ।
केन्द्रीय कार्यसम्पादन समितिको म्यान्डेटअनुसार थापाले मन्त्रीमा आफूसहित जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापाको नाम प्रधानमन्त्री कार्यालयमा पठाएका थिए ।
यस्तै राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिस गरेका थिए ।
सोसँथै देउवाले जुनकसुकै बेला पनि सपथ हुन सक्ने भएर तयारी अवस्थामा रहन भनेकाले थापाले मन्त्री र राज्यमन्त्रीको रुपमा छानिएका सांसदहरुलाई विशालनगरस्थित आफ्नै निवासमा राखे ।
स्रोतका अनुसार सपथ लिनका लागि थापासहितका मन्त्रीहरु दौरा सुरुवालमा ठाँटिएर शुक्रबार दिनभर विशालनगरस्थित कमल थापाको निवासमा बसेका थिए ।
बिहानैदेखि सपथको पर्खाईमा रहेका उनीहरु राष्ट्रपति कार्यालयले सपथको कार्यक्रम राख्न अस्विकार गरेपछि साँझमात्रै आ–आफ्नो निवासमा फर्किएका थिए ।
‘सपथको लागि कुरेर दिनभर विशालनगरमै बसियो, कुनै बोलावट नभएपछि बेलुवा फर्कियौं’, मन्त्री सिफारिशमा परेका एक सांसदले शनिबार बिहान भने, ‘आज पनि विशालगनर गएर भर्खरै अब संसदतिर जाँदैछु ।’ संसदको अन्तिम दिन आज विशेष बैठक बस्दैछ ।
अर्का एक राज्यमन्त्रीमा सिफारिश भएका सांसदले आफूहरु प्रधानमन्त्री कार्यालयको खबरको प्रतिक्षमा रहेको बताए ।
तर, सपथ हुने नहुनेमा उनीहरु अन्यौलमा रहेका छन् । ‘ सपथका लागि तयारी अवस्थामा त रहनु भएको छ । तर, के हुने हो भन्न सकिने अवस्था रहेको छैन’, राप्रपाका एक नेताले भने, ‘प्रधानमन्त्री कार्यालयले नि आजै सपथ हुन्छ त भनेको छ।’
अहिले बधाई खान भ्याई नभ्याई भएका मन्त्रीहरु सपथको अन्योलताले भने छटपटीमा रहेका छन् ।
राष्ट्रपति कार्यालयले भने मन्त्रीहरूको शपथ कार्यक्रम अहिलेसम्म तय नभएको जनाएको छ ।
बरु राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा थप गर्न सिफारिश भएको सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्ने भएकी छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरू र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आचारसंहिता जारी भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गरेको मन्त्रिमण्डलको विस्तारलाई आचारसंहिता विपरीत भएको आयोगले जनाएको थियो ।
यदी राष्ट्रपति कार्यालयले आज सपथको कार्यक्रम राख्न अस्विकार गरे राप्रपाबाट सिफरिशमा परेका मन्त्रीहरुको पद धरापमा पर्नेछन् । आज मध्यरातदेखि संसद स्वतः विघटन हुने भएकाले राप्रपाका मन्त्रीहरुको सपथ संविधानतः हुन सक्दैन । संविधानअनुसार मन्त्री बन्नको लागि संसद रहनुपर्ने व्यवस्था रहेको छ ।






