एनआरएन अध्यक्षका उम्मेदवार भट्टको यात्राः रेस्टुराँमा भाँडा माझ्नेदेखि २९० रेस्टुराँका मालिकसम्म

Pgcf/Pgsf] cWoIfdf pDd]bjf/ e§ u}/cfjf;Lo g]kfnL ;+3-Pgcf/Pg_sf] cGt/fli6«o kl/ifbsf] jt{dfg pkfWoIf ejg e§n] oxL c;f]h @* ut]b]lv #! ut];Dd sf7df8f}Fdf x'g] Pgcf/Pgsf] cf7f}F ljZj ;Dd]ngdf cWoIfdf pDd]bjf/Lsf ;Gbe{df /f;;sf ;dfrf/bftf;Fu s'/f ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं- अध्ययनका लागि २० वर्षअघि जापान पुग्नुभएका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित हुनुभएको छ ।

अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा उहाँको पहिचान बनेको छ । जापान गएपछि सुरुवाती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गर्नुभएका भट्टको अहिले जापानमा मात्रै २ सय ९० होटल तथा रेस्टुराँ सञ्चालनमा छ ।

उहाँका रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उहाँ जापान जानुभएको थियो ।

जापान गइसकेपछि पढाई खर्च र दैनिक गुजारा चलाउन क्याम्पस समयबाहेक अरु समयमा उहाँ रोजगारमा संलग्न हुन थाल्नुभयो ।

महँगो ठाउँ भएकाले गुजारा चलाउन सुरुआती दिनमा रेस्टुराँमा भाँडा माझ्ने काम शुरु गर्नुभयो । ती दिन सम्झना गर्दै भट्टले भन्नुभयो, ‘घरमा काम नगरी हुर्केको म सुरुआती दिनमा जापानमा रेस्टुराँमा भाँडा माझ्नुपर्दा धेरै अप्ठ्यारो लाग्यो, यति पढेको मान्छेले के भाँडा माझ्ने भन्ने सोचेर चित्त पनि दुख्यो ।’

यस्तो सोचिरहे अगाडि बढ्न सकिँदैन, श्रमलाई सम्मान गर्नुपर्छ भन्ने निष्कर्षसहित भाँडा माझ्ने कामलाई अवसरका रुपमा लिनुपर्छ भन्ने उहाँले योजना बनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘भाँडा माझ्ने काममा पनि केही नयाँ गर्नुपर्छ भन्ने लाग्यो, मैले माझेको भाँडा अरुले माझेकोभन्दा सफा हुनुपर्छ भन्ने ठानेर अझ धेरै मेहनत गरेर भाँडा माझे ।’ उहाँको उक्त कामबाट प्रभावित भएपछि साहुले उहाँलाई दिँदै आएको घण्टाको ७०० जापानी ऐनमा ५० बढाएर ७ सय ५० पु¥याइदियो । कामप्रतिको लगाव देखेर साहुले उहाँलाई भाँडा माझ्ने कामबाट केही समयपछि वेटरमा बढुवा गरिदियो ।

यसरी ६ वर्षसम्म फरक–फरक रेस्टुराँ र होटलमा काम गर्दैगर्दा अनुभवका आधारमा होटल प्रबन्धकको पदसम्ममा पुग्न सफल हुनुभयो । एउटै ठाउँमा काम गर्दा आलश्यता र निराशा बढ्ने ठहरसहित उहाँले दर्जनौँ होटल तथा रेस्टुराँमा काम गर्नुभयो ।

विशेषगरी खानपान र पेय पदार्थको व्यवसायबारे रुचिका साथै ज्ञान हासिल हुँदै गयो । सोही ज्ञानलाई अवसरमा बदल्ने तथा कामदार र कर्मचारीबाट मालिकमा उक्लिने योजना उहाँले बनाउनुभयो ।

जापान गएको छ वर्षपछि टोकियोको बिएमसी सिन्जुको भन्ने ठाउँमा सन् २००३ मा उहाँले एउटा घाटामा गएको रेस्टुराँ किन्नुभयो । सुरुआती दिनमा नचले पनि बिस्तारै विभिन्न छुट र कार्यक्रम ल्याएपछि केही समयपछि रेस्टुराँ चल्न थाल्यो ।

उक्त रेस्टुराँबाट आएको फाइदाको रकमबाट त्यसको केही समयपछि नजिकै अर्को रेस्टुराँ किन्नुभयो । फाइदा बढ्दै गएपछि लगानी थप्दै गर्दा व्यवसायमा हात हालेको १४ वर्षमा उहाँले जापानमा २ सय ९० वटा होटल तथा रेस्टुराँ सञ्चालन गर्नुभएको छ । ती होटल तथा रेस्टुराँबाट वार्षिक ३२ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुने गरेको भट्टले जानकारी दिनुभयो ।

उहाँले नेपालमा टिबिआर्इ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब दुई अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।

‘कारोबार दैनिक, युनाइटेड ब्रुअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उहाँको लगानी छ । ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई आत्मसात् गर्न रुचाउने भट्टको देशप्रतिको प्रेमकै कारण आफ्नो लगानी आगामी दिनमा नेपालमै बढाउने योजना रहेको बताउनुहन्छ ।

विसं २०७२ वैशाख १२ मा भूकम्प गएको दुई घण्टापछि पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएका भट्टकै अग्रसरतामा भूकम्पपीडितका लागि राहत तथा उद्धारमा गैरआवासीय नेपाली संघ (एनआरएन) को सहयोग नेपाल भित्रिएको थियो ।

नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको विरोधमा जापानस्थित भारतीय दूतावासमा उहाँकै नेतृत्वमा ज्ञापनपत्र बुझाएपछि अन्य देशमा समेत एनआरएनहरुले त्यहाँस्थित भारतीय दूतावासमा ज्ञापनपत्र र धर्ना दिएपछि नाकाबन्दीको विषय अन्तर्राष्ट्रियकरण हुन सहयोग पुगेको थियो ।

पछिल्लो समयमा ‘अतिथि देव भव’ अन्तर्गत नमस्ते अभियानमार्फत नेपालमा पर्यटक भित्र्याउने तथा पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नका लागि एकैपटक नेपालको प्रमुख शहर काठमाडौं, चितवन, पोखरा, लुम्बिनी गरी चारै शहरमा उहाँले अभियान सञ्चालन गर्नुभएको थियो ।

एनआरएनको अध्यक्षमा उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएन) को अन्तरर्राष्ट्रिय परिषद्को वर्तमान उपाध्यक्ष रहनुभएका भट्टले यही असोज २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने एनआरएनको आठौँ विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गर्नुभयो ।
एनआरएन जापानको अध्यक्ष, एनआरएनको अन्तर्राष्ट्रिय परिषद्को कोषाध्यक्ष र अहिले उपाध्यक्षको दोस्रो कार्यकालमा हुनुहन्छ ।

आफू अध्यक्षमा निर्वाचित भएमा आफ्नो कार्यकाल एनआरएनका लागि नयाँ युगको सुरुआत गर्ने उहाँको लक्ष्य छ । आफ्नो कार्यकालमा एनआरएनको सदस्य संख्या दोब्बर बनाउने, महिला, युवा विभागलाई थप सशक्त बनाउने, नेपालमा एनआरएन र विदेशी लगानीका लागि वातावरण बनाउन प्रयास गर्ने तथा त्यसका लागि सरकारलाई दबाब दिनेलगायत उहाँको योजना छ ।

अहिलेसम्म भट्टबाहेक अरुले एनआरएनको अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गरेका छैनन् । उम्मेदवारी दिइहालेमा पनि स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको भट्ट बताउनुहन्छ । रासस