लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको नब निर्बाचित कार्यसमिती लाई ह्यान्ड ओभर टेक ओभर कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा अल्डरसटमा सम्पन्न सो समारोहमा आसन्न आईसिसी निर्वाचनका लागि आधा दर्जन बढिले उम्मेदवारी घोषणा समेत गरे ।
सोहि समारोहमा नवनिर्वाचित अध्यक्ष योगकुमार फगामीले आफुसंग निर्वाचनमा पराजित अध्यक्षका अरु दुई उम्मेदवार कृष्ण तिमल्सेना र हिराधन राईलाई संस्थाको सल्लाहकार मनोनित गरेको घोषणा गरे । बांकी सल्लाहकारहरुको मनोनयन विश्व सम्मेलनपछि बस्ने कार्यसमिति बैठकबाट टुंगो लगाउने भनिएको छ । त्यसैगरी एनआरएन यूकेको प्रवक्तामा रमेश सरांगकोटीलाई नियुक्त गरेको घोषणा पनि सोहि समारोहमा गरियो ।
केन्द्रीय अध्यक्ष घले र बेलायत अध्यक्ष फगामीले नवनियुक्त प्रवक्ता सरांगकोटीलाई खादा ओढाएर स्वागत गरे । एनआरएन यूकेका सबै पूर्व अध्यक्षहरु महन्त श्रेष्ठ, अशोक श्रेष्ठ, मेजर रिटायर्ड डमर घले, सुर्य गुरुंग, कुल आचार्य, योगेन क्षेत्री, महेन्द्र कंडेल र मुछेत्र गुरुंगलाई संरक्षक नियुक्त गरिएको छ । जसमध्ये मे रिटायर्ड घलेलाई प्रमुख संरक्षक बनाइएको छ ।
उपस्थित संरक्षकहरुलाई आईसिसी अध्यक्ष घले तथा बेलायत अध्यक्ष फगामीले मञ्चमा सम्मान गर्दै खादा ओढाए । समारोहमा एनअखारएन यूकेका निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र र खादासहित सम्मान गर्दै बिदाई गरिएको थियो । त्यस्तै, हालै सम्पन्न सातौं अधिवेसन सफल बनाउन भुमिका निर्वाह गर्ने निर्वाचन समिति, विधान संशोधन समिति र अध्यक्षमण्डलमा रहने सबैलाई पनि खादा ओढाएर प्रमाणपत्र प्रदान गर्दै सम्मान गरियो ।
एनआरएन यूकेको निवर्तमान कार्यसमितिका तर्फबाट झण्डै ५३ लाख रुपिया बराबरको चेक आईसिसी अध्यक्ष शेष घलेलाई हस्तान्तरण गरियो । हरेक सदस्यको सदस्यता शुल्कबापत आईसिसीलाई बुझाउनुपर्ने ५ पाउण्ड र काठमाडौंमा निर्माणाधिन एनआरएन भवनको लागि भन्दै हरेक सदस्यबाट उठाइएको १० डलर गरेर सो रकम जम्मा भएको हो । एनआरएन यूकेका निवर्तमान अध्यक्ष मुछेत्र गुरुंग र निवर्तमान कोषाध्यक्ष दिपक श्रेष्ठले सो रकम बराबरको चेक अध्यक्ष घलेलाई हस्तान्तरण गरेका थिए ।
समारोहमा आईसिसीका विभिन्न पदका लागि आधा दर्जन बढि आकांक्षीहरुले आफ्ना उम्मेदवारी घोषणा गरे । एनआरएन यूकेका निवर्तमान अध्यक्ष मुछेत्र गुरुंगले कोषाध्यक्ष, आईसिसी सदस्य विश्वासदिप तिगेलाले सचिव, थर्क सेनले युरोप संयोजक, विजन भट्टले युरोप उपसंयोजक,सोनाम लामाले उपाध्यक्ष, एनआरएन आईसिसी सल्लाहकार त्रिलोक गुरुंगले महासचिव , र सोम सापकोटाले सहकोषाध्यक्षमा आ आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।
एनआरएन युरोप संयोजक कुल आचार्यले उपाध्यक्षमा आफ्नो आकांक्षा प्रस्तुत गर्दै उम्मेदवारी घोषणा भने केहि दिनपछि गर्ने जनाउ गरे । आईसिसी प्रवक्ता रञ्जु थापाले पनि महिला उपाध्यक्षको पदमा आफ्नो आकांक्षा रहेको बताइन् । यसअघि बेलायतबाट युरोप क्षेत्रीय महिला उपसंयोजकमा संिगता मरहट्ठाले पनि उम्मेदवारी घोषणा गरिसकेकी छिन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले आईसिसीका सबै अभियानमा एनआरएन बेलायतले सधै अग्रपंक्तमा रहेर सघाइरहेको भन्दै प्रशंसा गरे । प्रविधिको उच्चतम प्रयोग गर्दै पारदर्शी रुपमा सबै आर्थिक विवरण वेबसाइटमा प्रकाशन गर्नेदेखि व्यवस्थित रुपमा अनलाइन सदस्यता वितरण गर्नेसम्म सबै काममा एनआरएन बेलायत पहिलो भएको उनले बताए ।
आसन्न आईसिसी निर्वाचनमा विभिन्न पदमा आकांक्षा राख्ने सबैलाई शुभकामना दिदै घलेले योग्य र क्षमतावानलाई जिताउन सबैलाई आव्हान गरे । अध्यक्ष घलेपत्नी तथा आईसिसी सदस्य जमुना गुरुंगले अध्यक्ष संगसंगै विभिन्न प्रोजेक्टहरुमा खटिने क्रममा संगालेका अनुभवहरु सुनाइन् । यसअघि अपेक्षा र चर्चा गरिएजस्तो जमुना गुरुंगको उम्मेदवारीबारे भने उनीहरु केहि बोलेनन् ।
एनआरएन बेलायतका महासचिव आरके त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शेर सुनारले स्वागत तथा अर्का उपाध्यक्ष प्रेम गाहा मगरले धन्यवाद मन्तव्य राखेका थिए ।—- हेर्नुस लण्डन नेपाल न्यूज डटकम ले तयार पारेको स्थलगत भिडियो रिपोर्ट:






