जापान अध्यागमनबाटै किन फर्काइए कांग्रेस युवा नेता प्रदीप पौडेल ?

काठमाडौं– नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समितिको कार्यक्रमका लागि जापान आएका नेता प्रदीप पौडेल अध्यागमन विभागको २० घण्टा नियन्त्रणपछि नेपाल फिर्ता भएका छन् ।

समितिका अध्यक्ष डीवी कँडेल र रमेश ड‌ंगोलले अध्यागमनले भनेको बेला स्पोन्सर उपस्थित हुन नसक्दा फिर्ता गरिएको जनाएको छ । पौडेलसँगै स्वास्थ्य खवर पत्रिकाका प्रकाशक अनिल न्यौपाने पनि फिर्ता गरिएका छन् ।

पौडेललाई अध्यागमनले रोकेपछि समितिका पदाधिकारीहरुको पहलामा जापानस्थित नेपाली राजदूतावासले पौडेललाई निर्बाध रुपमा आउन दिन गरेको पहल प्रभावकारी हुन नसकेको जनाएको छ । दूतावासले नेताको जापान भ्रमणबारे आधिकारिक जानकारी नआए पनि समस्या भएपछि आयोजकले सम्पर्क गरेको जनाएको छ । जनसम्पर्क समिति सभापति डीपी कँडेलले युवानेता पौडेललाई जापान प्रवेशका लागि अनेक प्रयास गर्दा पनि नसुनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गर्न लगाइएको बताए । प्रधानमन्त्री देउवाको फोन आएको, नआएकोबारे जापानस्थित कुनै पनि निकायले पुष्टि गरेको छैन ।

जापान अध्यागमनले शनिबार अपराह्न १३स्३० मा जापानको हानेदा विमानास्थल भएर आएका पौडेलसँग भ्रमणको उद्देश्य पूरा गर्ने आधार नभेटेपछि आइतबार बिहान १०स्२४ मा नेपाल फिर्ता गरेको जनाएको छ । कांग्रेस सांसद धनराज गुरुङसँग भने रातो पासपोर्ट भएका कारण प्रवेश दिएको बताइएको छ ।