काठमाडौँ । सरकारले काठमाडौँ नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ । बुधबार बसेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले कलेज सञ्चालनका लागि मापदण्ड पूरा नभइ अवैधरुपमा सञ्चालन भइरहेको प्रतिवेदनका आधारमा केएनएमसीको सम्बन्धन खारेज गरेको हो ।
यसअघि बुधबार विहान त्रिभुवन विश्वविद्यालयद्धारा गठित ३ सदस्यीय छानबिन समितिले काठमाडौँको कालिकास्थानमा रहेको मेडिकल कलेजको अनुगमन गर्दै कलेज सञ्चालनका लागि मापदण्ड पूरा नभइ अवैध रुपमा सञ्चालन भइरहेको प्रतिवेदन त्रिवि कार्यकारी परिषदलाई बुझाएको थियो । अनुगमनका क्रममा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयको अनुमति समेत नलिएको पाइएको थियो ।
कलेज सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयबाट अनुमति समेत नलिएको पाइएको छानबिन समितिका संयोजक सहप्राध्यापक सनत देवकोटाले जानकारी दिनुभएको थियो । बुधबार विहान काठमाडौंको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल अनुगमन गर्न पुग्नु भएका संयोजक देवकोटाले अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयको अनुमति समेत नलिएको पाइएको स्पष्ट पार्नुभयो । उहाँले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कुनै पनि प्रक्रिया पूरा समेत नभएकाले अस्पताल बैध रुपमा सञ्चालन नभएको पुष्टि भएको पनि उल्लेख गर्नुभयो ।
त्रिवि सभा तथा कार्यकारी परिषदले अस्पताल बैध रहेको वा नरहेको छानवसन गर्न देवकोटा नेतृत्वमा विश्वविद्यालयका डा. प्रशान्त भट्ट र परशुराम कोइराला सदस्य रहनु भएको छानवीन समिति गठन गरेको थियो । समितिले गत शनिबारबाटै छानबिन प्रक्रिया थालेको थियो ।
छानबिनका क्रममा स्वास्थ्य मन्त्रालयको समेत अनुमति नलिएको पाइएको थियो । संयोजक देवकोटाले अस्पतालले अध्ययण, अध्यापनका लागि पनि त्रिभुवन विश्वविद्यालयबाट अनुमति लिएको नपाइएको पनि स्पष्ट पार्नुभएको थियो । स्वास्थ्य सेवा सञ्चालन गर्न कुनै पनि अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । त्यसै गरी अस्पतालमा अध्ययन, अध्ययपन गर्न त्रिभुवन विश्वविद्यालयले तोकिदिएको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर नेशनल मेडिकल कलेजले दुवै प्रक्रिया पूरा नगरेको पाइएको थियो ।
समितिले अस्पतालको स्थलगत अनुगमन गरि तयार पारेको प्रतिवेदन त्रिभुवन विश्वविद्यालय सभा तथा कार्यकारी परिषदलाई बुझाएको थियो । प्रतिवेदनले दिएको सुझावको आधारमा परिषदले नेशनल मेडिकल कलेजलाई कार्वाही गर्ने वा नगर्ने आवश्यक निर्णय लिने कानुनी व्यवस्था छ ।
यता, स्वास्थ्य मन्त्रालयले पनि काठमाडौँ नेशनल मेडिकल कलेजले अस्पताल स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७३ बमोजिम मन्त्रालयबाट सञ्चालन अनुमति नलिएको जानकारीसहितको पत्राचार त्रिभुवन विश्वविद्यालय सभा तथा कार्यकारी परिषदलाई पठाएको थियो ।






