काठमाडौं, माघ २२ – नेकपा–एमालेका अध्यक्ष केपी ओलीले एमाओवादीका कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा प्रवेश गर्न अपिल गरेका छन् । आन्दोलनमा भाग नलिने कार्यकर्ताहरुलाई एमाओवादीले कारवाही गर्ने भनेको भन्दै ओलीले उनीहरुलाई एमालेमा तत्काल प्रवेश गर्न अपिल गरेका हुन् ।
राजधानीको बागबजारमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘तपाईंहरु त्यस्तो दूर्घन्धित पार्टीमा किन बस्नुहुन्छ ? त्यहाँ लागेर मार्नुभन्दा नेकपा–एमालेमा आएर बाँचेर मन्त्री बन्नुहोस् ।’ ओलीले एमालेमा प्रवेश गरे एमाओवादी कार्यकर्ताहरुलाई सुरक्षा, सम्मान र अवसर समेत दिने वाचा गरे ।
३० दलीय मोर्चाले मानसिक सन्तुलन जचाउन माग गरेको विषयको प्रतिवाद गर्दै ओलीले आवेसमा आएका मोर्चाका नेताहरुलाई सिटामोल खान सुझावसमेत दिएका छन् ।
ओलीले आन्दोलन भनेको फुटबल खेल नभएको बताएका छन् । उनले ३० दलीय मोर्चाको आन्दोलनमा कोही पनि सहभागी हुन नआउने दाबी गरे । ‘आन्दोलन भनेको काठमाडौं–११ र ललितपुर–११ बीचको खेल होइन । अहिले आएर आन्दोलन गर्छु भन्दा कसले पत्याउँछ ?,’ ओलीले भने, ‘माघ भए पनि घाम ताप्न आउलान् भन्नु, फागुनमा घाम ताप्न को आउँछ ?’
प्रचण्डलाई बल्ल चिन्न थाले
ओलीले पहिले प्रचण्डलाई असाधारण विश्वास गर्ने भए पनि संविधानसभामा भएको घटनापछि उनको असली अनुहार चिन्न थालेको बताएका छन् । ‘छातीमा माइक खाएपछि बल्ल वहाँको असली रुप देखें । पछिल्लो चरण उनीहरुको गतिविधिले असली अनुसार चिन्न सजिलो भएको छ ।’ अध्यक्ष ओलीले अबको राजनीतिमा एमालेले हिसाब किताब गर्ने बताए ।






