लन्डन । बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालमा आएको बाढीपहिरोमा सहयोग गर्ने बेलायतस्थित संघसंस्थाहरुलाई हार्दिक धन्यवाद दिएका छन्।
युकेस्थित विभिन्न संघसंस्थाहरुसंग शनिबार दूतावासमै छलफल गर्दै राजदूत सुवेदीले नेपाल सहयोग पठाउने काममा नेपाली दूतावासले सहयोग गर्ने बताए।
प्राकृतिक विपत्तिमा नेपाल सरकारबाट जारी राहत, खोज र उद्धार कार्यबारे जानकारी दिंदै राजदूत सुवेदीले बाढी पीडितहरुलाई जुनसुकै जिल्लामा गएर सहयोग प्रदान गर्न सकिने, त्यसमा सरकारको तर्फबाट कुनै रोकटोक नभएको खुलासा गरे। सो अवसरमा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले राहत वितरण कार्यक्रममा कुनै अवरोध गर्न नहुने, बेलायतस्थित विभिन्न संघसंस्था तथा नेपाली दूतावासबीच समन्वय गरिंदा राम्रो हुने सुझाव दिएका थिए।
सो अवसरमा विभिन्न संघसंस्थाहरुले आफुहरुले उठाइरहेको सहयोग अभियानबारे जानकारी दिएका थिए।
बाढी तथा पहिरो पीडित परिवारहरुलाई बेलायतका विभिन्न संघसंस्था र समाजबाट प्राप्त हुने सहायता सम्वन्धमा आवश्यक समन्वय गर्ने कामका लागि दूतावासका उपनियोग प्रमुख शरदराज आरणलाई संयोजक तोकिएको दूतावासले जनाएको छ ।






