बाढीबाट मर्नेको संख्या १२८ पुग्यो, ३३ बेपत्ता

काठमाडौं– विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानमा परी मर्नेको संख्या १ सय २८ पुगेको छ । गृहमन्त्रालयले बुधबार बेलुका दिएको विवरणअनुसार बाढीपहिरोका कारण अझै ३३ जना हराइरहेका छन् भने २५ जना घाइते छन् ।

बाढी, पहिरो र डुवानबाट प्रभावितहरुको खोज उद्धार राहत वितरणको लागि स्थानीय तह, स्थानीय जनसमुदाय र सर्वसाधारण समेतको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २५ हजार तालिम प्राप्त सुरक्षाकर्मीहरु, स्थानीय प्रशासन, अन्य राष्ट्रसेवक कर्मचारीहरु परिचालित रहेको गृहले जनाएको छ ।

अहिलेसम्म १ लाख ५ हजार भन्दा बढीको उद्धार गरिएको पनि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । १ लाख २० हजार केजी भन्दा वढी खाद्यान्न, औषधि, पानी लगायतका सामाग्री हेलि लिफ्ट गरी वितरण गरिएको सरकारको भनाइ छ ।